अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

मुलुकमा लकडाउनको समयावधि चैत्र २६ सम्म लम्बियो, अन्तर्राष्ट्रिय उडानमा लगाईएको प्रतिबन्ध बैशाखसम्म कायमै

बिआरटीनेपाल २०७६ चैत १६ गते ७:३० मा प्रकाशित

सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्याउने निर्णय गरेको हो।

आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थप ८ दिन देशभर लक डाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो । समन्वयन समितिको बैठकमा लक डाउनको अवधि बढाउने विषयमा सबै मन्त्रीहरु सहमत भए पनि कति थप्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्ने निष्कर्षमा पुगेको थियो।

भारतमा वैशाख ३ गतेसम्म लक डाउन घोषणा गरिएको अवस्थामा नेपालमा पनि त्यति नै अवधि गर्नुपर्ने आवाज उठिरहेको छ । नेपालमा हालसम्म ५ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसैगरी मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडानहरु अप्रिल १५ सम्म स्थगन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशमा पठाउने निर्णय पनि गरेको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर मेसिन पाउने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो । प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री पठाउने निर्णय पनि गरेको छ ।

विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरूलाई सङ्क्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको विडारीले बताउनुभयो । मनत्रीपरिषद् बैठकले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय पनि गरिएको छ । नेपाली नागरिक भएको प्रमाणित भएपछि मात्रै प्रवेश दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू