अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

नुवाकोट सहितका जिल्लामा आयोजित गोरु जुधाउने मेलामा ६६ हल गोरु जुधाइयो

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२७ मा प्रकाशित

हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने गोरु जुधाउने मेला यो वर्ष पनि नुवाकोटसहितका जिल्लामा सम्पन्न भएको छ । करिब दुई सय वर्षको इतिहास बोकेको उक्त मेला पछिल्ला वर्षहरुमा पनि उत्तिकै लोकप्रिय छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली घर नुवाकोट जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको र त्यसपछि सर्वसाधारणको मनोरञ्जनका लागि पनि गोरु जुधाउने परम्परा सुरुवात भएको हो ।

गोरु जुधाउने ठाउँका रुपमा प्रख्यात नुवाकोटको तारुकामा यस वर्ष पनि धुमधामका साथ मेला सम्पन्न भएको हो । जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइ हुने भएपनि विगत १४ वर्षदेखि तारुका र वेत्रावतीमा व्यवस्थित तरिकाले यो मेला आयोजना हुँदै आइरहेको छ । नुवाकोटको तारुकामा २१ हल, रसुवा र नुवाकोटको सीमाना बेत्रावतीमा १५ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा १० हल, लिखु गाँउपालिकाको कट्टिछापमा १० हल र तादी गाँउपालिकाको सातबिसेमा १० हल गोरुको भिडन्त भएको छ ।

त्यस्तै गोरखाको भीमसेन थापा गाउँपालिकामा १५ हल गोरु जुधाइएको थियो । बेत्राबतीमा भएको कार्यक्रमलाई प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले उद्घाटन गर्नुभएको थियो । गोरु जुधाएको हेर्न नुवाकोट, रसुवा, काठमाडौंँ, धादिङलगातका जिल्लाबाट हजारौंँको संख्यामा सर्वसाधारण पुगेका थिए । परम्परागत संस्कृतिलाई निरन्तरता दिन र पर्यटक प्रवद्र्धनका लागि यसले टेवा पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू