अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

रवि लामिछानेले आफै ऋण माग गरेर सूर्यदर्शन सहकारीबाट एक करोड लगेको देखियोः छानबिन समिति

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ६:१५ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैले माग फारम भरेर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रूपैयाँ ऋण लगेको छानबिन समितिले बताएको छ। लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला उक्त ऋण माग गरेको फारम भेटिएको पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले बताएको हो। ‘रवि लामिछानेको नामबाट एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिन्छ। सो माग फारममा उहाँको हस्ताक्षर पनि छ,’ छानबिन समितिका विज्ञ सदस्य दीपकप्रकाश आचार्यले भन्नुभयो, ‘हामीले त्यसको फोटोकपी पनि प्रतिवेदनमा राखेका छौं’। लामिछानेले सो ऋण माग गरेपछि ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमा एक करोड रूपैयाँ गएको पनि आचार्यले बताउनुभयो।

‘लामिछानेले त्यसरी लगेको ऋण पछि गोर्खा मिडिया नेटवर्कबाट सहकारीमा तिरेको पनि देखिन्छ’, उहाँले भन्नुभयो । गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आउनुभएको छ । गोर्खा मिडिया नेटवर्क ग्यालेक्सी टेलिभिजन चलाउने माउ कम्पनी हो। सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन्। उनी अहिले फरार छन्।

यसरी नाफामूलक कम्पनीसँग कुनै पनि कारोबार गर्न रोक सहकारी ऐनले लगाएको छ। ऐनले सहकारीका सदस्य नभएका व्यक्तिलाई ऋण दिन नपाइने, सञ्चालक र सदस्यलाई पनि ऋण प्रवाहको सीमा तोकेको छ। गोर्खा मिडिया नेटवर्क नाफामूलक कम्पनी हो। सूर्यदर्शन सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका प्रबन्धक कुमार रम्तेलले सहकारीबाट टेलिभिजनमा ११ करोड रूपैयाँ लगानी गरेको जिल्ला अदालतमा दिएको बयानमा उल्लेख गरेका छन्। गैरकानुनी रूपमा टेलिभिजनमा सहकारीको बचत लगानी भएको भन्दै पीडितहरू आन्दोलित छन्।

ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक एवं सेयरधनी लामिछाने पनि गैरकानुनी कारोबारमा संलग्न देखिएको भन्दै पीडितले गत माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। लामिछानेसहित १८ वटा कम्पनीका प्रबन्ध निर्देशक एवं सेयर सदस्यलाई विपक्षी बनाएर पीडितले जाहेरी दिँदासमेत प्रहरीले अस्वीकार गरेको थियो। यसबारे सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन भएपछि मात्र प्रहरीले जाहेरी लिएको थियो।

जाहेरी लिए पनि प्रहरीले छुट्टै जाहेरीका रूपमा अहिलेसम्म दर्ता गरेको छैन। जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी मुद्दा चलिरहेको छ। सोही मुद्दामा जोड्ने गरी पूरक जाहेरीका रूपमा अनुसन्धान भइरहेको प्रहरीले बताउँदै आएको छ। लामिछानेविरूद्ध जाहेरी परेपछि प्रहरी, महानगरका विज्ञ, सिए (चार्टर्ड एकाउन्टेन्ट) लगायतको टोली बनाएर सहकारीको छानबिन गरिएको हो। यसपालिको प्रतिवेदनलाई सूर्यदर्शन सहकारीको पूरक छानबिन भनिए पनि यसअघिका प्रतिवेदनभन्दा अहिले विस्तृत रहेको पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारीले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू