अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

पोखरा विश्वविद्यालयद्धारा १०० बेडको शिक्षण अस्पताल शुरु

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:५४ मा प्रकाशित

पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । २२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो । पोखरा महानगरपालिका–३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो । बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।

चिकित्सा शिक्षाका कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यास गर्न अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने र विशिष्टीकृत सेवा प्रदान गर्ने विश्वविद्यालयको भनाइ छ । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।

अस्पतालले आगामी दिनमा शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष ९एनआईसीयू० र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा. दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू