अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

सयको नोटमा नेपालको नक्शा छाप्नेमा कसैले आपत्ति जनाउनु पर्दैन : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ५:५९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको एक सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय विरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चार माध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोल्नुभएको आरोप समेत लगाउनुभयो । उहाँले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्शा राख्नुपर्ने पनि बताउनुभयो । नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताउनुभयो । उहाँले नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताउनुभयो । अध्यक्ष ओलीले नेकपा एमालेले गम्भीर रुपमा यसबारेमा छिनोफानो खोज्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू