अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ : माधवकुमार नेपाल

बिआरटीनेपाल २०८१ जेठ ६ गते ५:५२ मा प्रकाशित

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पार्नुभयो ।

आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई अध्यक्ष नेपालले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘भोली प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुविधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौं ।’ अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू