अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

सहकारीबारे संसदीय छानबिन गर्ने कांग्रेसको मागमा विपक्षी दलहरुको समेत समर्थन

बिआरटीनेपाल २०८१ जेठ ४ गते ६:५० मा प्रकाशित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसका मागमा अरू विपक्षी दलहरूले पनि समर्थन जनाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले शुक्रबार नयाँ बानेश्वरमा राखेको छलफलमा सहभागी सदनका विपक्षी दलहरूले सहकारीबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका हुन्। सहकारीमा नागरिकहरूले गरेको अर्बौं बचत अपचलन, हिनामिना र दुरूपयोग तथा ठगी भएको भन्दै कांग्रेसले सरकारलाई छानबिन गर्न माग गरिरहेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध गर्दै आएको छ।

विपक्षी दलहरूसँग भएको छलफलपछि कांग्रेसका महामन्त्री गगन थापाले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसका मागमा अरू विपक्षी दलहरूले पनि समर्थन जनाएको जानकारी दिनुभयो। ‘सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय सदनमा कांग्रेसले उठान गर्दै आइरहेको छ। यो मागमा विपक्षी दलहरूले समर्थन छ भन्नु भएको छ,’ थापाले भन्नुभयो।

साथै विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। बिहीबारको बैठकमा कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहँदा सभामुख घिमिरेले कार्यसूचीमा प्रवेश गर्नुभएको थियो । विपक्षी दलहरूको बैठकपछि सभामुख घिमिरेले राखेको छलफलमा पुगेका विपक्षी दलका प्रमुख सचेतकहरूले सभामुख घिमिरेलाई तटस्थ भूमिकामा रहिदिन आग्रह गरेका छन्। बिहीबार कांग्रेसले वेल घेराउ गर्दा राप्रपा, लोसपालगायत विपक्षी दलका सांसदरहरू पनि उठेर विरोध जनाएका थिए।

कांग्रेसले शु्क्रबार राखेको छलफलमा राप्रपा नेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरदसिंह भण्डारीलगायत सहभागी हुनुभएको थियो । उनीहरूले कांग्रेसलाई मोर्चा बनाएर अघि बढ्न पनि सुझाव दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू