अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

बिआरटीनेपाल २०८० चैत १४ गते ७:०० मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको दाबी गर्नुभएको हो ।ऊर्जामन्त्री बस्नेतले केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नविकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताउनुभयो । उहाँले विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री बस्नेतले बाहिर आए जस्तो भारतले विद्युत आयात गर्ने अनुमति नविकरण नगर्ने भन्ने अवस्था नभएको बताउनुभयो । उहाँले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गर्नुभयो । ऊर्जामन्त्री बस्नेतले भारतीय प्रतिष्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताउनुभयो । उहाँले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताउनुभयो ।

भारतबाट बिजुली खरिदको लागि हरेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ । नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीहरुले बताइरहेका छन् ।

ऊर्जामन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत आपूर्तिमा समस्या रहेको स्वीकार गर्नुभयो । उहाँले गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोको कारण जलविद्युत आयोजनाहरुमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताउनुभयो । उहाँले निजी क्षेत्रले उत्पादन गरेको विद्युत ढल्केवरबाट इनरुवालाई प्रशारणलाइन जोडेर विराटनगर करिडोरको प्रेसरलाई कम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू