अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

गर्मीले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ६:५१ मा प्रकाशित

कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ भने गर्मीकै कारण अस्पतालमा बिरामीको चाप पनि बढेको छ । अहिले तराईका जिल्लामा उख्खरमाउलो गर्र्मीको प्रभाव बालबालिकादेखि वृद्धवृद्धासम्मलाई परेको छ ।

गर्मी बढ्दै गएपछि शहर बजारमा मानिसको चहलपहलसमेत घट्न थालेको छ । वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नागरिक उड्ययन प्राधिकरणअन्तर्गत विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक वैशाख ११ गते अत्याधिक गर्मी महसुस भएको छ । विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका कर्मचारी सञ्जय सोडारीले वैशाखकै पहिलो हप्तादेखि धेरै नै गर्मी भएको बताउनुभयो ।

चैत–वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो । यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात अनुकुल वातावरण भएको महिना बताइन्छ । तर जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको हो ।जलवायु परिवर्तनका कारण वर्षेनी गर्मी बढ्दै गएको वातावरणविद् रामचन्द्र अधिकारीले बताउनुभयो । सन् २०२३ सर्वाधिक गर्मी भएको वर्ष थियो र अब प्रत्येक वर्ष झन्–झन् गर्मी बढ्ने वातावरणविद्को भनाइ छ । साधारणतया प्रिमनसुनमा गर्मी बढी हुने भएपनि यस वर्ष वसन्त ऋतुमै गर्मी अत्याधिक बढेको बताउनुभयो । जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्याधिक बढेको बताउनुभयो ।

कोशी प्रदेशको राजधानी विराटनगरका अस्पतालमा यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको छ । उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ । तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि शतर्कता अपनाउनु पर्ने नोबेल मेडिकल कलेजका वरिष्ठ फिजिसियन सुरेन्द्र साहले बताउनुभयो । गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन सुझाव दिनुभयो । १० वर्ष भन्दा कम र ६० वर्ष माथिका मानिसहरुमा बढी प्रभाव पर्ने बताउनुभयो । विगतमा केही ढिलागरी शुरु हुने गर्मी यस पटक छिटो गरेर शुरु भएको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले तापमान अबका केही दिनसम्म चल्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू