अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

आठ महिनामा उद्योगमा एक खर्ब ५५ अर्बको लगानी स्वीकृत, वैदेशिक लगानी २९ अर्ब

बिआरटीनेपाल २०८० चैत ११ गते ७:१५ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा उद्योग स्थापनाका लागि कुल एक खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उद्योग विभागका अनुसार २०८० साउनदेखि फागुन मसान्तसम्मको अवधिमा २५८ वटा उद्योग सञ्चालनका लागि प्रस्ताव आएको हो । प्रस्तावित कुल लगानीमध्ये एक खर्ब २५ अर्ब ८७ करोड रुपैयाँ स्वदेशी र २९.१३ अर्ब रुपैयाँ विदेशी रहेको उद्योग विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा स्वदेशी तथा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३२ वटा ठुला, २२ वटा मझौला र २०४ वटा साना रहेका छन् । दर्ता भएका नयाँ उद्योगमा १८ हजार १५३ नयाँ रोजगारी सिर्जना हुने प्रस्ताव भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा साना २०० वटा, मझौला ८५ र ठुला ८० वटा नयाँ उद्योग दर्ता गर्ने लक्ष्य राखिएका थियो । यस आर्थिक वर्ष उद्योग कुल विदेशी लगानी ३८ अर्ब भित्र्याउने लक्ष्य राखिएको थियो । हालसम्म २९।१३ अर्ब रुपैयाँ विदेश लगानी प्रस्ताव आएको छ ।

हालसम्म नेपालका उद्योगमा लगानी गर्ने गरी आएका ६ हजार ११२ प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ । ती प्रस्तावमा चार खर्ब ७९ अर्ब १० करोड ३४ लाख ३८ हजार ३०५ रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा नेपालका उद्योगमा प्रस्तावित वैदेशिक लगानीमध्ये ४५ प्रतिशत पयर्टन, ३५ प्रतिशत सेवा, १ प्रतिशत खनिज, २ प्रतिशत पूर्वाधार, ३ प्रतिशत सूचना, सञ्चार तथा प्रविधि, १२ प्रतिशत उत्पादन र २ प्रतिशत कृषि क्षेत्रमा आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू