अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

नाइजेरियामा एक सय ३७ जना विद्यार्थी र कर्मचारी १८ दिनपछि अपहरणमुक्त

बिआरटीनेपाल २०८० चैत ११ गते ७:११ मा प्रकाशित

नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए ।आज बिहान जामफाराबाट एक सय ३७ जनालाई सेनाले अपहरणकारीबाट मुक्त गर्न सफल भएको नाइजेरियाका सैन्य प्रवक्ता मेजर जनरल एडवर्ड बुबा बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरुलाई जंगलबाट मुक्त गराएको र परिवारलाई बुझाउनुअघि स्वास्थ्य परीक्षण गरिने सेनाको भनाई छ । छुट्न बाँकीको बारेमा सरकारले आधिकारिक रुपमा केही बोलेको छैन ।

नाइजेरियामा फिरौतीका लागि अपहरण गर्ने घटना सामान्य हुँदै गएका छन् । एक दशकअघि आतंकवादी संगठन बोको हरामले दुई सय ७६ जना छात्रालाई अपहरण गरेको थियो, केही छात्रा अहिले पनि रिहा भएका छैनन् । यसअघि सन् २०२१ मा पनि एक सय ५० जना विद्यार्थी अपहरणमा परेका थिए । यस पटक पनि अपहरणकारीले सरकारसँग छ लाख ९० हजार अमेरिकी डलर अर्थात् एक अर्बभन्दा धेरै नाइजेरियाली मुद्रा अर्थात नाइराको माग गरेका थिए । सरकारले फिरौती दिन अस्वीकार गर्दै खोजी अभियान चलाएको थियो । नाइजेरियामा अपहरणका घटना दैनिकजसो हुने गरेका छन् । आफ्ना प्रियजनहरूको रिहाईका लागि त्यहाँका नागरिकहरु जग्गा, गाईवस्तु र अन्न बेच्न बाध्य हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू