अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

जीवन किन यो स्वार्थी बन्छ

रमा दुलाल २०८० मंसिर २८ गते १३:४३ मा प्रकाशित

तिमी-हामी आस्थामा बाँडियौ
देश बे-वास्तामा ओइलायो
हामीले मौसमी बाँसुरी बजायौ
देशले राष्ट्रियताको धुन खोज्यो!!१!!

हरेक धुनको बाँसुरी बजायौ
स्वार्थको लागि घुँडै टेक्यौ
देशको मान -इज्जत धापमा राखी
आफूले आफैलाई बेच्यौ!!२!!

बाड -फाडमा आस्था बाँडियो!!
राष्ट्र र राष्ट्रियता बेचियो
भत्तामा सत्तामा हामी रमायौ
मूक-दर्शक भई देशले हेरी रह्यौ!!३!!

हानथापको भाग -बन्डामा
आमाको धोती धरर च्यात्यौ।
द्रोपतीको चिर-हरणमा झैँ
आमालाई नि-वस्त्र बनायौ!!४!!

रुन्छिन् आमा,कराउँछिन् आमा
बहिरो हामी किन सुन्दैनौ… ?
लास माथिको यो राजनीति
कहिले सम्म हो केही बुझ्दैनौ!!५!!

कुर्सी हामीलाई प्यारो लाग्छ
सत्ताको मात नशा हुन्छ
पद-पैसाको भुमरीमा
जीवन किन यो स्वार्थी बन्छ!!७!!