अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

सरकारले घटायो बजेट लक्ष्य, चालु आवमा ८७प्रतिशत मात्रै खर्च हुने अनुमान

बिआरटीनेपाल २०८० माघ २९ गते ६:११ मा प्रकाशित

सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको बताउनुभयो । उहाँले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताउनुभयो ।

अर्थमन्त्री महतले मध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताउनुभयो । उहाँले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताउनुभयो । उहाँले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको बताउनुभयो । उहाँले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगततर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गर्नुभयो । उहाँले कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफू आएपछि अर्थतन्त्रले सकारात्म लय समाएको बताउनुभयो । उहाँले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको बताउनुभयो । अर्थमन्त्री महतले सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा रहेको बताउनुभयो । उहाँले बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले सूचक सकारात्मक बन्दै गएपनि सरकारको लक्ष्यअनुसार सूचक नभएको स्वीकार गर्नुभयो । उहाँले मूल्यवृद्धि सरकारको लक्ष्य भन्दा पनि कममा आएको भन्दै मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले कर्जा प्रवाहमा नहुने चिन्ता भएपनि आगामी दिनमा कर्जा वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले आयातमा गैरभन्सार चुहावटको आशंका रहेको बताउनु भयो । उहाँले सरकारको समग्र खर्च ३२.५७ प्रतिशत रहेको बताउनुभयो । अर्थमन्त्री महतकाअनुसार राजश्व संकलन ७७.४ प्रतिशत र राजश्व वृद्धिदर ९.६७ प्रतिशत रहेको बताउनुभयो । उहाँले इन्धनमा आयातित गाडी अहिले ईभी प्रमोसनमा जाँदा धेरै कर घटेको भन्दै महत्त्वपूर्ण भाग आयातमा राजस्व एकदमै कम भएको बताउनुभयो ।

अर्थमन्त्री महतले विगतमा बजेटमा घोषणा गरिएको दायित्व ठूलो भएकाले सरकारलाई बजेट व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । विगतमा शेयर बजार र घर जग्गामा लगानी बढ्दा बैंकिङ क्षेत्र समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले सरकारले राजश्वका विषयमा सुझाव दिन उच्चस्तरिय समिति गठन गरेको भन्दै उक्त समितिले दिने सुझावका आधार आगामी वर्ष सरकारले नीतिगत सुधार गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू