साहित्यकार दाइ कोमल भट्ट नेपाली साहित्य जगत्का एक विशिष्ट कवि हुनुहुन्छ। विशेष गरेर छन्द विधामा कलम चलाउने कवि कोमल भट्टमा धेरै भन्दा धेरै छन्दहरूको ज्ञान हुनुको साथै भाषिक शुद्धता, शास्त्रीय अव्वल शैली, संस्कृतको ज्ञान प्रचुर मात्रामा देखिन्छ । मै हुँ शुद्ध र राम्रो छन्द लेख्न सक्ने एक मात्र कवि भनेर गम्किने कविले पनि वहाँसँग हार खान सक्छ । भलै वहाँलाई कसैसँग कुनै प्रतिस्पर्धा र द्वन्द्व त के, कसैलाई कसैसँग तुलना गर्नु नै छैन । वहाँलाई त आफू जे छु, आफूसँग जस्तो ज्ञान र शिल्प छ र जस्तो जिन्दगी छ उसैमा रमाएर सुखशान्ति र आनन्दसँग बाँच्नु छ । वहाँले जस्तो कविताको प्रत्येक पाउको अन्त्यानुप्रास मिलाएर बेजोड र भिन्न तरीकाले छन्द कविता लेख्ने अर्को कवि शायदै होलान् । कवितामा मात्र नभएर मुक्तक र गजलमा समेत वहाँ निकै अब्बल हुनुहुन्छ । वहाँका गजलले मानव मुटुलाई भित्रबाटै छुन्छन् ,मार्मिक र कोमल हुन्छन् भने मुक्तकहरू मस्तिष्कबाटै तिखारिएर लेखिएका उत्कृष्ट र मनोहर हुन्छन् । “कोमल मुनाहरू नामक कोमल भट्ट दाइको यो कृति छन्द कविताहरू, गजल र मुक्तक गरी तीन विधायुक्त कृतिको सँगालो हो । यसरी छन्द कविताहरू, मुक्तक र गजलहरू मिलाएर निकालिएको कृति पनि सायदै यो पहिलो नै होला । यसले नेपाली साहित्यको क्षेत्रमा एक छुट्टै खालको अस्तित्व अवश्य कायम गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । यस कृतिले अवश्य पनि एक बलियो इँटारूपी कला, ज्ञान साहित्यमा थपिएको कुरामा दुई मत नहोला । जम्मा जम्मी छत्तीस वटा कविताहरूमा प्रत्येक कविताहरू पठनीय तथा माननीय छन् ।उत्कृष्टता भित्र पनि अझै उत्कृष्ट कविता तथा गजल, मुक्तक भित्रका हरफहरूमा झनै उत्कृष्टता पाइन्छ । कविताका केही अंशहरू जस्ताको तस्तै —-
रोजै जस्तो अविहित कुरा हुन्छ नेपालभित्र
नेता हाम्रा कलुषित निकै भेट्न गाह्रो पवित्र
प्यारी हाम्री जनम जननी भइसकिन् आज खोक्रो
चुस्दाचुस्दै रस सब सुके मात्र बाँकी छ बोक्रो ।।
(सँझियून् देश प्रेम कविताबाट )
मानव हो फूल सरी
फुल्छ तथा जान्छ झरी
दुख्छ कतै वेदनमा
डुब्छ कतै शोभनमा ।।
(मानव कविता )
नारीको अपमान भो हरघडी लागे पिपासा पछि
गिद्धेदृष्टिधरी दुराशयहरू छाडा भए बेसरी
रोजै भो,व्यभिचार घात ननिका रोजै बढे दुर्जन
चिन्ताग्रत सदैव सज्जनहरू साह्रै छिया भो मन ॥
(छियो भो मन कविताबाट)
स्वदेशी माटोमै लहलह हुँदै फुल्न सक्थे पसीना
वृथा डाँडा काटेँ ,सुख सब गुमे दर्दको छैन सीमा
प्रवासीको आत्मा झलझल कहाँ शून्य,साह्रै अँध्यारो
मही आफ्नै प्यारो जनक जननी स्नेहको काख प्यारो ।।
( प्रवासी व्यथा कविताबाट)
निकट छौ तिमी छैन वेदना
सतत झाँगिने स्वच्छ भावना
प्रबल चाहना शैलझैँ हुने
प्रिय हराउँदा चित्त यो रुने ।।
(प्यारी कविता नामक कविताबाट)
म हुँ सादगी सन्तको खानपान
छ सामान्य पेसा र सामान्य मान
जमेको कतै छैन कुण्ठा म भित्र
सबै बन्धु मेरा सबै इस्ट मित्र ।।
(म कविताबाट )
कविताका शीर्षकहरू परम्परित विषयवस्तु मात्र झल्काउने हो कि जस्तो लागे पनि समसामयिक विषय तथा समस्याहरू झल्काउन सफल छन् । भिन्न भिन्न छन्दका कवितामा भिन्न भिन्न स्वादहरू छन् । प्रत्येक कविता अक्षरशः पढ्ने पाठकले अवश्य नै यसको स्वाद लिन पाउनेछन्।
यसै गरी केही गजलका केही अंशहरू —
छ जिन्दगानी सपना सयौँ छन्
व्यथा सयौँ छन् र कथा सयौँ छन् ।।
अन्योलले ग्रस्त छ लक्ष्य आफ्नो
सत्मार्ग रोक्ने पहरा सयौँ छन् ।।
संसारमा दुःख विशाल रैछ
हाँसो खुसीको अनिकाल रैछ ।
यहाँ सुन्छ कसले दुखेका कहानी
दुखेरै बिलाए सयौँ जिन्दगानी ।।
छिमेकी छ लुच्चो दियो लात धेरै
सॅधै गर्न थाल्यो खुराफात धेरै ।।
पुरानै छ पूजा धुपौरा पुरानै
पुरानै छ थाली कचौरा पुरानै ।।
भयो के र नौलो नयाँ तन्त्रबाट
पकाइन्छ रोजै फुलौरा पुरानै ।।
सँगालेर स्वप्न चितामा जलाएँ
सबै खाग पारी नदीमा बहाएँ । आदि ।
विभिन्न पृष्ठमा भएका, लेखिएका यी गजलहरू बेजोड त छँदैछन् । मार्मिक र घत लाग्दा पनि छन् अझ त्यो भन्दा पनि बढी महत्त्वपूर्ण कुरा सबै सबै गजल विभिन्न छन्द विधामा मात्र छन् । यो अति महत्त्वपूर्ण छ । सबै सबै गजल पढिसकेपछि गजलको सच्चा रसास्वादन पाठकले पाउनेछन् ।
कविताहरू भन्दा पनि गजल अझ बढी उत्कृष्ट हो कि भन्ने आभास पाठकहरूलाई हुन सक्छ ।
यसपछि कृतिको तेस्रो खण्डमा मुक्तकहरू छन् । अक्षरशः नपढी पाना पल्टाउनै नसकिने केही मुक्तकहरू —–।
पात्रो नयाँ पीडन छन् पुरानै
व्यथा कथा, रोदन छन् पुरानै
न सिद्धियो त्रास, न ता हताश
काँडा सरी उल्झन छन् पुरानै ।।
यो प्राण भन्दा छ स्वदेश प्यारो
प्यारो छ भाषा अनि भेष प्यारो
मान्दैन आत्मा पहिचान भुल्न
लाग्दैन अर्को परिवेश प्यारो ।।
हेर्दाहेर्दै देश फाँडो बनाए
मागी खाने मात्र भाँडो बनाए
पाए कुर्सी दुर्मनाले सँधै नै
आफ्नै वासस्थान चाँडो बनाए ।।
जिन्दगानी एकैनास कहाँ हुन्छ सॅधैभरी
कैले मुस्कानको बाढी, कैले आँसु छ बेसरी
यस्तै हो सृष्टिको रीत, रुने हाँस्ने छ हरदम
पूर्णिमा आउँछन् पक्कै औँसी पश्चात् कसै गरी ।।
…. आदि, आदि अनेकौँ गहकिला र बेजोड मुक्तकहरू सबै पढ्न र साहित्यिक रसपान गर्न पनि हामी सबैले पुस्तक किनेर पढ्नुपर्ने हुन्छ । यो खोजी खोजी पढ्नुपर्ने पुस्तक मध्ये एक हो । किनकि अर्को महत्त्वपूर्ण कुरा त मुक्तक पनि अनेकौँ छन्दमा नै लेखिएका छन् । यसरी विविध छन्दमा मुक्तक लेखिएको पनि यो नै पहिलो कृति हो कि अथवा मलाई ज्ञात नभएको हो, तसर्थ यो कृतिमा एक नौलोपन र भिन्न गति प्रवाह गरिएर लेखिएको छ भन्न सकिन्छ ।
यसरी समष्टिमा हेर्दा कवि कोमल भट्टको पहिलो कृति कोमल मुनाहरू अरू कृति भन्दा भिन्न र अव्वल स्वरूपमा आएका छन् । कविता, गजल, मुक्तक सबै विभिन्न छन्दमा लेखिएका छन् । साँच्चै यो एउटा छुट्टै पहिचान बोकेको साहित्यिक कृतिको रूपमा आएको छ । हरेक कवि लेखकका आफ्नै पाठक हुन्छन् र छन् पनि । सबैको हेर्ने, बुझ्ने दृष्टि पनि अलग हुन्छ । मलाई भने कृति पढिसकेपछि यो कृति भिन्न पहिचानको देखिए पनि कवि कोमल भट्टको कविता नै एक मनग्य कविता सहित छुट्टै, सँग्रहको रूपमा, अनगिन्ती गजल पढ्न पाउने गरी एक गजल कृतिको रूपमा र मुक्तक पनि पूरा ठेलीको रूपमा पाना पल्टाउँदै पल्टाउँदै पढिरहन पाएको भए हुने जस्तो लाग्यो। कवि कोमल भट्ट दाइसँग चाङका चाङ कविता गजल र मुक्तकहरू होलान् अवश्य नै । किन यति थोरै मात्र प्रकाशन गर्नुभएको होला ? कुन्नि सकिएला कि झैँ ? शुद्धाशुद्धि तथा भाषिक खोट देखाउन त कोही उभिनु पर्ला भनेर नचिताए हुन्छ वहाँलाई । यदि देखिहालियो भने त्यो प्रकाशकको प्रिन्टबाट कमजोरी भएको। हुन पनि सक्छ । दाइको अरू धेरै कृतिहरू आउँदै गरून् । यति राम्रो कृतिलाई सबै सबैले खोजी खोजी पढुन् । अहिलेलाई यो कृति बारे यति नै । दाइलाई धेरै शुभ कामना र बधाई ।