अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

मधुमेह दिवस मनाइँयो

बिआरटीनेपाल २०८० कार्तिक २८ गते ४:५४ मा प्रकाशित

आज विश्व मधुमेह दिवस । ‘मधुमेह हेरचाहमा पहुँच’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँएको छ ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा मान्यता दिएको हो ।

मधुमेह एक नसर्ने रोग हो । सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ । पछिल्लो समय विश्वमा नै नसर्ने रोग मृत्युको प्रमुख कारणको रूपमा देखा पर्न थालेका छन् ।

नेपालमा पनि अस्वस्थ खाना र जीवनशैली, सहरीकरण तथा आर्थिक/सामाजिक अवस्था परिवर्तनका कारण गैरसङ्क्रामक रोगहरू देखा परिरहेका डाक्टरले बताएका छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरको भनाइ छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रूपमा क्रियाशील रहनु हो ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वमा ५० करोड ३७ लाख मानिस मधुमेहबाट ग्रसित छन् । यो सङ्ख्या सन् २०३० मा ६० करोड ४३ लाख र सन् २०४५ मा हरेक आठमध्ये एक जनामा मधुमेह देखा पर्ने र त्यो सङ्ख्या बढेर ७० करोड ८३ लाख पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू