अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको बिजुली भारत निर्यात

बिआरटीनेपाल २०८० कार्तिक १ गते ७:०२ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले गएकाे जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली गएकाे जेठ २८ गतेदेखि भारतीय बजारमा बेच्न शुरु गरेको थियो ।प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली निर्यात भएको छ ।

३ महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गएकाे जेठ महिनाकाे ५ दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख   रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात भएको छ । ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली निर्यात भएको हो ।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात भएकाे बिजुलीकाे औसत बिक्री दर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । ३ महिनाको बिजुली समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । बिजुली निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट बिजुली ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष झन्डै १६ अर्ब रुपैयाँको बिजुली निर्यात हुन सक्ने देखिएको बताउनुभयो । ‘झन्डै १०० मेगावाट थप बिजुली निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौँ, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘चाडपर्व शुरु भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाण्डाैमा चिसो शुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा बिजुलीकाे माग घट्छ, भारतबाट थप बिजुली निर्यात स्वीकृति नपाउने हो भने विद्युत् गृहहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप बिजुली निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू