अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित

बिआरटीनेपाल २०८० कार्तिक १ गते ६:५९ मा प्रकाशित

विश्वकै सबैभन्दा लामो मुक्तिनाथ मन्दिर केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताउनुभयो । उहाँले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताउनुभयो ।

अध्यक्ष सुवेदीले समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको बताउनुभयो । उहाँले आयोजनाको वातवरण मूल्याङ्कन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको बताउनुभयो । उहाँले नेपालका कानूनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नको लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गर्ने बताउनुभयो ।अध्यक्ष सुवेदीले मुक्तिनाथ केबलकार परियोजना बनाउनको लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा जुटाउने बताउनुभयो । उहाँले आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको उल्लेख गर्नुभयो ।

अध्यक्ष सुवेदीले वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिर्पोट आइसकेको बताउनुभयो । उहाँले मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबरकार प्रणाली हुने बताउनुभयो । उहाँले मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहने बताउनुभयो । उहाँले मुक्तिनाथ जाँदा सडक खतरायुक्त,हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने बताउनुभयो ।

अध्यक्ष सुवेदीले मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भु सर्वप्राचिन पौराणीक ८ घाम मध्ये एउटा भएको बताउनुभयो । उहाँले मुक्तिनाथ केबलकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको बताउनुभयो । उहाँले नेपालको कानूनी झमेला र कानूनी प्रतिकुलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई पुग्ने बताउनुभयो । उहाँले आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै ९ अर्ब रुपैयाँ सरकारलाई राजस्व मात्रै जाने बताउनुभयो ।त्यस्तै, के एण्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केवलकार परियोजना बनाउन चुनौति र समस्या भएपनि आफूहरु सक्षम रहेको बताउनुभयो । उहाँले मुक्तिनाथ केबलकार बनाउन के एण्ड आर प्राविधिक र आर्थिक रुपमा सक्षम रहेको बताउनुभयो । अध्यक्ष कार्रलाले मुक्तिनाथ विष्णु भगवानको पावन भूमि भएकाले पनि केवलकारमा लगानी गर्न तयार भएको बताउनु भयो । उहाँले मुक्तिनाथ केवलकार निर्माणले उक्त क्षेत्रमा पर्यटकहरुको ठूलो सम्भावना रहेको बताउनुभयो ।

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुने छन् ।

यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाई ८०.१५ किलोमिटर हुने छ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्ने छ ।प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको रहेको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुने छ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहने छ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू