अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा ओम बहादुर गुरुङ

बिआरटीनेपाल २०८० असोज १० गते १७:१९ मा प्रकाशित

न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक युएसएको अध्यक्षमा ओम बहादुर गुरुङ निर्विरोध निर्वाचित भएको छ ।

सोसाइटीको हिजो भएको साधारण सभा तथा १२ औँ अधिवेशनले ओम सहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । यस्तै, महासचिवमा मच्छेदेवी गुरुङ, उपाध्यक्षमा अलिशा गुरुङ, कोषाध्यक्षमा अञ्जित गुरुङ, सहसचिवमा विजय गुरुङ, सहकोषाध्यक्षमा करुणा गुरुङ निर्विरोध निर्वाचित भएका छन ।

नवनिर्वाचित अध्यक्ष ओम गुरुङले अमेरिकामा रहेका एकता नै शक्ति भएकोले सबै गुरुङहरूलाई सहयोग गरी सोसाइटीको कार्यक्रमहरू सफल बनाउन अनुरोध गरे । भाषा, धर्म र भेषभुषालाई जगेर्ना गर्ने कामलाई निरन्तर दिई आउने दिनहरूमा सबै गुरुङहरूलाई समेटेर जानको लागि कार्यसमितिले गरेका सबै निर्णयहरूलाई हरेक सदस्यहरूलाई इमेल तथा भाइबरमार्र्फत जानकारी दिने बताए । संस्थाको आर्थिक अवस्थालाई सुदृढ गर्नको लागि पहल गर्ने नवनिर्वाचित अध्यक्ष गुरुङको भनाइ छ । साथै सांस्कृतिक, शैक्षिक, खेलकुद लगायत विभिन्न समितिहरू बनाएर युवाहरूको सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले ओपन फोरमको सुरुवात गर्ने बताए । आफूलाई विश्वास गरेर नेतृत्व चयन गरेकोमा सम्पूर्ण सदस्यहरू, निवर्तमान कार्यसमिति सदस्यहरू, निर्वाचन समिति तथा गुरुङ आमा समूहलाई धन्यवाद व्यक्त गर्दै भोलीका दिनमा सबैलाई हातेमालो गरेर साथ दिनको लागि सबैलाई आग्रह गरे । युवाहरूलाई हरेक कार्यक्रममा सहभागी गराई युवाहरूलाई प्रोत्साहन गर्ने र गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा आमा समूहसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ । अध्यक्ष गुरुङ पेसाले इन्जिनियर हुन् ।

समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । निर्वाचन समिति सदस्यहरूमा पूर्व अध्यक्ष मेख गुरुङ तथा पूर्व सल्लाहकार टेक गुरुङ संलग्न थिए । अलिशा महासचिवमा, ओम कोषाध्यक्षमा र अन्जित सहकोषाध्यक्षमा यस अघिको कार्यकालमा कार्यरत थिए । त्यस्तै बोर्ड सदस्यहरूमा भक्त गुरुङ, लीला गुरुङ, गोमा गुरुङ, अशोक गुरुङ, विन्दु गुरुङ, भीम गुरुङ, बुद्धि गुरुङ, सागर गुरुङ, अभिषेक गुरुङ, हिरालाल गुरुङ, अर्जुन गुरुङ, प्रयुद गुरुङ, प्रकाश गुरुङ, नवीन गुरुङ, केभिन गुरुङ निर्विरोध चयन भएका छन् । नवनिर्वाचित समितिका सदस्यहरूलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गोपनीयताको शपथ गराएका थिए । दुई सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको २ वर्षमा गरेका कार्यक्रमको कार्य प्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै साधारण सभाले विधान संशोधन गरी ट्रस्टी स्थापना गर्ने, कार्यसमितिको कार्यकाल ३ वर्षको रहने, नयाँ कार्यसमिति २१ सदस्य रहने।

आजीवन सदस्यहरूका श्रीमान् श्रीमती दुवै जनालाई भोट गर्ने अधिकार रहने व्यवस्था गरेको छ । कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङले आफू बाचुन्जेलसम्म सोसाइटीको लागि निरन्तर सहयोग गर्ने बताउँदै सबै गुरुङहरूलाई एक भएर लाग्न अनुरोध गरे । त्यस्तै, नेपाल तथा युकेबाट आउनु भएका गुरुङ आमा बुबाहरूलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको थियो । सोसाइटीका निवर्तमान अध्यक्ष तोरण गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण बोर्ड सदस्यहरू, सल्लाहकारहरू, आमा समूह, युवा समूह लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै समाजबाट कोही पनि रिटायर्ड नहुने भएकोले आफू सधैँ समाजको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान अध्यक्ष गुरुङले गुरुङ सोसाइटी अन्य समुदायका लागि पनि उदाहरणीय बनाउनका लागि सबै गुरुङहरू एकजुट भएर लाग्न अनुरोध गरे । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तुलसी गुरुङले उपस्थित सबै गुरुङहरूलाई धन्यवाद दिँदै सबै जना एक भएर उभिन सकेमा समाजलाई अझ बलियो बनाउन सकिने बताए । कार्यक्रममा उपस्थित सबैलाई संस्थाकी उपाध्यक्ष शान्ति गुरुङले स्वागत गर्दै समाजमा पारिवारिक वातावरण सिर्जना गर्न सबै गुरुङहरूलाई अनुरोध गरिन् । द गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ सालमा भए पनि औपचारिक रूपमा जुन ३१, २००१ मा विधिवत् रूपमा सञ्चालनमा छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।

प्रतिक्रिया