अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

न्यू योर्क सिटी मेयरसँग आप्रवासी रुष्ट

बिआरटीनेपाल २०८० असोज ५ गते २३:१६ मा प्रकाशित

न्यू योर्क। न्यू योर्क सिटी मेयर एरिक आडम्सले १५ प्रतिशत बजेट कटौती गर्ने तयारी गरेपछि आप्रवासी समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाले पत्रकार सम्मेलन गरेरै त्यसको विरोध गरेका छन्।

न्यू योर्क इमिग्रेसन कोलिएनसन, देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम), सप्ना, मेक द रोड, नाइस लगायत दर्जनौँ सङ्घसंस्था सहभागी भएको पत्रकार सम्मेलन सेप्टेम्बर १९ मा सिटी हल अगाडि भएको थियो। पत्रकार सम्मेलनमा न्यू योर्क स्टेट सिनेटर जेसिका रामोस्, सिटी काउन्सिल मेम्बर सहाना हनिफ, कारमेन डेलारोजा, चि ओसे, सहित करिब एक दर्जन काउन्सिल मेम्बर र विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले मेयर आडम्सको विरोध गरेका थिए।

काउन्सिल मेम्बर हनिफले बजेट कटौतीबाट न्यू योर्क सिटीले दिने सेवामा मात्र नभएर न्यू योर्कबासीको वास्तविक जनजीवनमा असर गर्ने बताइन्। ‘हामी न्यू योर्क सिटीमा आप्रवासीलाई सधैँ स्वागत गर्छौँ र उनीहरूलाई सहारा दिन्छौँ,’ उनले भनिन्।

उनीहरूले मेयर आडम्सले आप्रवासी समुदायसँग सरोकार राख्ने २ अर्ब अमेरिकी डलर यस अघि नै कटौती गरेको र फेरी आप्रवासीलाई नै मर्कामा पार्ने गरी बजेट कटौतीको तयारी गरिरहेको भन्दै विरोध गरेका हुन्। उनीहरूले आप्रवासीले नभएर मेयरको नीतिले न्यू योर्क सिटीलाई विनाशतर्फ लगिरहेको बताए। न्यू योर्क सिटीमा सयौँ वर्षदेखि आप्रवासी आइरहेको तर इतिहासमा पहिलो पल्ट आप्रवासीलाई समस्याका रूपमा हेरेको भन्दै मेयर आडम्सप्रति आक्रोश पोखे।

न्यू योर्क सिटीमा हरेक महिना करिब १० हजार आप्रवासी आउँछन् र सिटीले सञ्चालन गरेको होमलेस सेल्टरमा बस्छन्। हाल ती सेल्टरहरूमा एक लाख १२ हजार तीन सय शरणार्थी बसोबास गरिरहेका छन्। मेयर आडम्सले उनीहरूका लागि चाहिने भन्दै बजेट कटौतीको तयारी गरेका हुन्। उनको शिक्षा क्षेत्रबाट २ दशमलव १ बिलियन डलर, डिपार्टमेन्ट अफ सोसल सर्भिसेजबाट १ दशमलव ४ बिलियन डलर, डिपार्टमेन्ट अफ होमलेस सर्भिसेजबाट आठ सय मिलियन डलर, फायर डिपार्टमेन्टबाट तीन सय मिलियन डलर र सिटी हस्पिटलहरूबाट दुई सय मिलियन डलर कटौती गर्ने तयारी छ। यसबाट कामदार वर्गका मानिसले पाइएको सेवामा असर गर्ने कतिपय विद्यालय र फायर स्टेसन बन्द हुने विरोधी पक्षको भनाइ छ। उनीहरू शरणार्थीलाई सेल्टरमा राख्न छाडेर छिटो भन्दा छिटो वर्क परमिट जारी गरेर काममा पठाउनु पर्ने तर्क गर्छन्।

पूर्व प्रहरी समेत रहेका मेयर आडम्सले यस अघि इसेन्सियल सेक्टरबाट करिब २ बिलियन डलर बजेट कटौती गरी प्रहरीलाई दिएका छन्। यसबाट आप्रवासी समुदायलाई असर परेको छ। ड्रमका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटी बजेट कटौतीबाट नेपाली समुदायमा पनि गम्भीर असर गरेको बताए। ‘नेपाली समुदायको बाक्लो बसोबास रहेको र ठुलो सङ्ख्यामा नेपाली बालबालिका पढ्ने विद्यालयबाट बजेट कटौती हुँदा ती विद्यालयमा स्रोत, साधन र जनशक्तिको अभाव हुन्छ,’ उनले उदाहरण दिँदै भने। चालु आर्थिक वर्ष ठुलो सङ्ख्यामा नेपाली बालबालिका पढ्ने उडसाइडको पिएस ३६१ बाट चार लाख ८५ हजार डलर, एल्महस्र्टस्थित पिएस ८९ बाट १ दशमलव १ मिलियन डलर, एल्महस्र्टकै पिएस २५५ बाट चार लाख डलर र ज्याक्सन हाइट्सस्थित पिएस ६९ बाट ५ लाख ५० हजार डलर कटौती भएको छ।

प्रतिक्रिया