अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

न्यू योर्क सिटी मेयरले नेपाली झण्ड फहराउने

बिआरटीनेपाल २०८० भदौ २५ गते १९:४५ मा प्रकाशित

न्यू योर्क। नेपालको संविधान दिवसको अवसर पारेर न्यू योर्कका मेयर एरिक आडम्सले म्यानह्याटनमा नेपाली झन्डा फहराउने भएका छन् । झन्डा २० सेप्टेम्बर चार्जिङ बुल रहेको बोलिङ ग्रिनमा फहराइने छ ।

नेपाली समुदायका तर्फबाट माइनोरिटी इम्पावरमेन्ट नेटवर्कसहित ३४ संस्थाले उक्त कार्यक्रमका लागि सहजीकरण गरिरहेको उक्त संस्थाका अध्यक्ष श्याम कार्कीले बिआरटी नेपाललाई बताए । उनले नेपाली समुदाय सम्बद्ध अन्य संस्थालाई कार्यक्रममा सहभागी हुन अनुरोध गरे। ‘हतारमा काम गर्नु परेकाले सबै संस्थालाई खबर गर्न सकिएन,’ उनले भने, ‘अहिले करिब ३४ संस्था छौँ। ढिलै भए पनि अरू संस्थालाई हामीसँग जोडिन अनुरोध गर्छौँ ।’

अमेरिकाका लागि कार्यवाहक नेपाल महावाणिज्यदूत विष्णुप्रसाद गौतमले संसारको राजधानी भनेर चिनिएको न्यू योर्कका मेयरले नेपाली झन्डा फहराउनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताए । ‘यो नेपालीले न्यू योर्क सिटीमा पुर्‍याएको योगदानको कदर पनि हो,’ उनले थपे । उनले नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको उक्त कार्यक्रममा सबै नेपाली संस्थालाई सहभागी हुन आग्रह गरे ।

झन्डा फहराउने कार्यक्रम चार्जिङ बुल सँगै बोलिङ ग्रिनमा बिहान ९ बजे हुने छ । नेपाली झन्डा अर्को फ्ल्याग रेजिङ कार्यक्रम नभएसम्म त्यहाँ रहने छ ।

प्रतिक्रिया