अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपालले मलेसियालाई ५ रनले हरायो

बिआरटीनेपाल २०८० भदौ १४ गते ४:१५ मा प्रकाशित

नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो ।जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाका कप्तान विनीफ्रेड दुराईसिङ्घमले सर्वाधिक २८ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन।

नेपालकी कविता जोशी र कविता कुँवरले समान २ तथा रुविना क्षेत्री, अश्मिना कर्माचार्यले एक/एक विकेट लिए । त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।नेपालकी सीता रानामगर सर्वाधिक ३८ रनमा अविजित रहिन् । अप्सरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया