अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

दिनेशको १९औं विश्व कीर्तिमान !

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:३४ मा प्रकाशित

नेपाली पार्कर दिनेश सुनारले १९औं विश्व कीर्तिमान बनाएका छन्। उनले अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासमा आयोजित पासपोर्ट डिसी कल्चरल इभेन्टमा आफ्नो १९औं विश्व कीर्तिमान बनाएका हुन्। उनले ‘द मस्ट ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड विथ ब्लाइन्डफिल्ड’ शीर्षकमा नयाँ विश्व कीर्तिमान बनाएका हुन्। ११ पटक उल्टी गर्दा विश्व कीर्तिमान बन्नेमा उनले ३० सकेन्डमा १३ पटक उल्टी हानेका थिए।

यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिन भने बाँकी छ। गत शनिबार भएको कार्यक्रममा नेपाली राजदूत श्रीधर खत्री प्रमुख अथिति थिए। पार्कर दिनेशले यसअघि उल्टी हान्ने विभिन्न शीर्षकमा १८ विश्वकीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्।

सय जनाले उनको कीर्तिमान प्रत्यक्ष हेरेका थिए। नेपालको संस्कृति, नृत्य, खाना, कला र पर्यटन प्रवर्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको थियो। वार्षिक सांस्कृतिक कार्यक्रममा दूतावासले हिमालयन डोको रेस्टुरेन्टलाई धन्यवाद समेत दिएको थियो। नेपाली खानाको स्वाद, नेपाली हस्तकलाका उत्पादन र प्रदर्शनका लागि जुडु तथा मिथिला चित्रकला प्रदर्शनीका लागि जनकपुर कला तथा शिल्प केन्द्र धन्यवाद दिइएको थियो। कार्यक्रमका लागि कलाकार तथा स्वयंसेवक उपलब्ध गराउने डान्स सेन्टर, अमेरिका नेपाल सोसाइटी (एएनएस) लाई पनि धन्यवाद दिइयो।

पार्कर दिनेशले विश्व कीर्तिमान बनाउन पाउँदा र पार्कर खेललाई चिनाउँदै अमेरिका र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन सानो भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू