अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

टी-२० विश्वकप- नेपाली टोली अमेरिकातर्फ

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ६:३२ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा भाग लिन नेपाली टोलीको एक समूह शनिबार राति अमेरिका प्रस्थान गरेको छ। अर्को एक समूह आइतबार अमेरिकातर्फ प्रस्थान गर्दैछ। नेपालले अमेरिकाको मायमीमा विश्वकपको अन्तिम तयारी यहिँ सातादेखि सुरू गर्नेछ। त्यहाँ तयारी गरेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जाने कार्यक्रम छ। सेन्ट भिसेन्टमा अभ्यास गरेपछि नेपाली टोली फेरि अमेरिका आउनेछ। यसपटक नेपालले विश्वकपका लागि पर्याप्त तयारी गर्ने अवसर पायो। नेपालले विश्वकपका लागि भनेर २५ वटा टी-२० खेल खेल्यो। जसमा नेपालले १५ खेलमा जित निकाल्दा ११ खेलमा भने हार बेहोर्‍यो। एक खेलमा नजिता आएन।

सुरुमा नेपालले घरेलु मैदानमा टी-२० विश्वकप २०२४ खेल्ने टोलीद्वय नामिबिया र नेदरल्यान्ड्ससँग सिरिज खेल्यो। जसमा नेपालले सुरूवाती दुई खेल हार्दा पछिल्ला दुई खेल जित्दै फाइनलमा स्थान पक्का गर्यो। नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा भने नेपाल पराजित भयो। त्यसपछि नेपालले हङकङमा पपुवा न्युगिनीलाई जित्यो। तर हङकङविरुद्धको समूह चरणको खेल र पपुवा न्युगिनीविरूद्धको फाइनल खेलमा पराजय भयो। त्यसअघि नेपाल र हङकङबीको पहिलो खेलमा वर्षाले अवरुद्ध भएको थियो।

हङकङ भ्रमणपछि घरेलु मैदानमा आयरल्यान्ड्स ए विरुद्धको दुई खेल जितेर नेपालले भारतको रणजी टोलीसँग सिरिज खेल्यो। आइपिएल २०२४ चलिरहेको अवस्थामा टोलीमा भारतका राम्रा खेलाडी भने समावेश थिएनन्। सो सिरिजमा समूह चरणमा बरोडासँग पराजित भएको नेपालले गुजरातसँगको फाइनलसहित बाँकी चार खेलमा जित निकाल्यो। त्यसपछि ओमानमा भएको एसिसी प्रिमियर कपमा नेपालले समूह चरणमा चार खेल जित्यो। तर सेमिफाइनलम युएई र तेस्रो स्थानको खेलमा हङकङसँग हार बेहोर्‍यो।

ओमानबाट फर्किएपछि नेपालले वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको सिरिज खेल्यो। जहाँ नेपालले पहिलो र अन्तिम खेल जित्दा बीचको तीन खेलमा भने पराजय भोग्यो। यसरी तीन महिनाको बीचमा २५ खेल खेलेपछि नेपाल विश्वकपका लागि अमेरिका पुग्दैछ। २५ खेलमा नेपालले २० भन्दा बढी खेलाडीलाई खेलाएको थियो। जसमा १३ खेलाडीमा कुनै परिवर्तन भएन। विश्वकप छनोट नखेलेका सागर ढकाल र कमलसिंह ऐरीसहित १५ सदस्यीय टोली विश्वकपमा सहभागी हुँदैछन्।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा ब्याटरको रुपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी सहभागी छन् ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ। विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर(८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जनाउँदैछन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू