अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

नागरिक विघयक अपुरो छ – पूर्व मन्त्री गिरी

बिआरटीनेपाल २०८० भदौ ९ गते १२:०७ मा प्रकाशित

न्यु योर्क – अगस्त १९ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको स्वागत सम्मान तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधि सभाका सदस्य एवम् नेपाल सरकारका पूर्व मन्त्री माननीय श्री दीपक गिरीले भरखरै पारित भएको नागरिक विघयक गैर आवासीय नेपालीका निमित्त अपुरो भएकोले नीति नियम र कानुन बनाएर भए पनि पूर्णता दिनका लागि आफूले सदनमा आवाज उठाउने कुरा राख्दै, विदेशमा बस्ने नेपालीको हक अधिकारको पक्षमा आफूले सधैँ संसदमा आवाज बुलन्द गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मरिज जस्तो खुम्चिएको जनसम्पर्क समितिले व्यवस्थित भएर गैर आवासीय नेपालीहरूको अधिकारको लागि आवाज उठाउनु पर्ने सुझाव दिँदै, नेता गिरिले सङ्गठनलाई व्यवस्थित गराउने कुरामा आफूले पार्टी नेतृत्वसँग कुरा राख्ने बताए ।

कार्यक्रम समापन गर्ने क्रममा अध्यक्षता गर्नुभएका नेपाली जनसम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्बाङले प्रवासमा बस्ने नेपालीको हक अधिकार र मुलुकको समृद्धिमा टेवा पुग्ने काम गर्नका लागि पार्टीले विश्वभरका जनसम्पर्क समितिहरूलाई चलायमान गराउनु पर्ने धारणा राख्दै, त्यसका लागि अन्तर्राष्ट्रिय कमिटीको आवश्यक भएको र पार्टीको केन्द्रीय सदस्यमा महादेश अनुसार केन्द्रीय सदस्य चयन गरेर जनसम्पर्क समितिलाई थप ऊर्जाका साथ व्यवस्थित र चलायमान बनाउन सकिन्ने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव विल्कुल ठिक भएको कुरा बताए ।

प्रवासमा बस्ने नेपालीहरूको लागि चाडै मताधिकारको व्यवस्था सरकाले मिलाउनु पर्ने कुरामा जोड दिँदै, महासचिव नेम्बाङले समानुपातिक निर्वाचन प्रणाली भएसम्म प्रवासमा जनसम्पर्क समितिलाई पार्टीले अझ बलियो र चलायमान बनाउनु पर्नेमा जोड दिए । एक प्रश्नको उत्तर दिँदै महासचिव नेम्बाङले , आफूहरू समितिको निर्वाचन गराउन कहिल्यै बाधक नभएको र पार्टीले निर्देशन दिए या चाहेमा तुरुन्तै निर्वाचन हुने कुरा समेत प्रस्ट पारे ।

न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न भएको उक्त कार्यक्रममा मन्तव्य राख्नुहुने अन्य वक्ताहरूमा , समितिका सल्लाहकार डा. विनोद शाह, समितिका संस्थापक सदस्य एवं इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ, जनसम्पर्क समितिका अग्रज नेता श्याम काजी गुरुङ, एनआरएन आइसिसिका सचिव प्रतीक गुरुङ, काँग्रेस नेतृ गोमा सेन, प्राध्यापक डा. गोविन्द कोइराला , जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अमिर जोशी, राप्ति समाजका अध्यक्ष, केशव बस्नेत, जनजाति महासङ्घ अमेरिकाका कोषाध्यक्ष तुल ब. तामाङ, युक्राका संरक्षक केशव राई, हामी नेपाली ग्वोबल न्यु योर्क च्याप्टरका अध्यक्ष ध्रुव कुवर, नेपाल आई भिजनका अध्यक्ष, मोहन श्रेष्ठ, काँग्रेस युवा नेता शिभ फागो, नेका महाधिवेशन प्रतिनिधि हिकमत लिम्बु , एनआर एन न्यु योर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, नेका युवा नेता एवम् एनआरएन न्यु योर्क च्याप्टरका पूर्व सचिव डन्ड मणि लामिछाने लगायत थिए ।

नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका महासचिव महेश मल्लले सञ्चालन गरेको उक्त स्वागत सम्मान तथा भेटघाट कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका कृयाशिल सदस्य तथा तरुण विभाग अमेरिकाका सचिव सुवास केसीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया