अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

नेजाद्वारा शर्मालाई डालसमा स्वागत

बिआरटीनेपाल २०८० भदौ २ गते १०:४५ मा प्रकाशित

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अमेरिकाको भ्रमणमा आउनुभएका नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्मालाई टेक्ससको डालसमा एक कार्यक्रमका बिच स्वागत गरेको छ । अगस्ट १७ बिहीबार डालसमा आयोजित स्वागत एवं अन्तरक्रियामा नेपाल सरकारका प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकारसमेत रहनुभएका शर्माले भौतिक रूपमा जहाँ भए पनि मातृभूमिसँगको निकटता कायमै राख्न नेपाली समुदायसँग आग्रह गर्नुभएको थियो ।

टेक्ससको युलेसमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रियामा बोल्दै शर्माले नेपाल पत्रकार महासंघ र नेजाबीचको सम्बन्ध अमेरिकामा रहेका नेपाली समुदाय र नेपालबिच पुलको रूपमा रहेको उल्लेख गर्नुभयो । विभिन्न कारणले नेपाली समुदाय प्रवासमा रहे पनि आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपालीको हितमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

स्वागत कार्यक्रममा बोल्दै शर्माले प्रवासमा रहेका आवाजविहीनलाई आवाज दिने र नेपाली र नेपाल सरकारलाई उपयुक्त सूचना प्रवाह सहयोग गर्नुपर्ने बताउनुभयो । शर्माले भन्नुभयो, “अहिलेको प्रविधियुक्त समयमा विभिन्न पत्रपत्रिकामा समाचार मात्र नभएर उपयुक्त सूचनामूलक लेख सिर्जना गरेर प्रकाशन/प्रसारण गर्नु आवश्यक छ ।”

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै शर्माले नेपालमा सरकारको तर्फबाट पछिल्लो समयमा केही सकारात्मक प्रयास सुरु भएको बताउँदै प्रवासबाट नेपालको राज्यव्यवस्थाप्रति निराशा फैलाउने काम नगर्न आग्रह गर्नुभयो । शर्माले नेपाली पत्रकारिताको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै प्रवासमा नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारले सामुदायिक पत्रकारिताको माध्यमबाट प्रवासी नेपालीहरूलाई नेपालसँग जोड्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्यका क्रममा नेजाका अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था भएको र अमेरिकामा रहेका समुदायलाई नेजाको आवश्यकता रहेको बताउनुभयो । नेजाले अमेरिकामा रहेका नेपालीको पहिलो पुस्तालाई मात्र नभई भावी पुस्तालाई मध्यनजर गर्दै आफ्ना योजना अगाडि बढाउन लागेको बताउनुभयो । नेजा आफैँमा निर्णयकर्ता नभएको तर समुदायलाई सबल र सक्षम बनाउनका लागि उनीहरूलाई आवश्यक सूचना प्रवाह गर्ने र विभिन्न सङ्घ-संस्था एवं समाजलाई सही गन्तव्यमा लैजान हातेमालो गर्दै गलत प्रवृत्तिलाई सदैव खबरदारी गर्ने अध्यक्ष भण्डारीको जोड रहेको थियो ।

नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा बोल्दै नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले नेजा र महासंघबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको र नेपालमा पत्रकारलाई साह्रो-गाह्रो पर्दा नेजाले सहयोग गर्दै आएको बताउनुभयो । यस्तै नेजाले नेपाल पत्रकार महासङ्घबाट अमेरिका भ्रमणमा आउनुहुने पत्रकारहरूलाई स्वागत एवं अन्तरक्रिया गर्दै आएको बताउनुभयो ।

नेजाका मध्य क्षेत्रीय संयोजक शङ्कर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजा सदस्यहरू शैलेशराज आचार्य, तारा रावल, सागर अर्याल, सामाजिक अभियन्ताहरू देवी आचार्य, तिलक केसी, दीपक खरेल, नारायण कँडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेजा पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लबका अध्यक्ष किसन रेग्मी, नेजा सदस्य एवं यूएस खबरका प्रधान सम्पादक ओम आचार्य, नेजा पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतमलगायत पत्रकारज्यूहरूको उपस्थिति रहेको थियो । यसैगरी, नेपाली समाज टेक्सासका वरिष्ठ उपाध्यक्ष विवेक कँडेल, सामाजिक अभियन्ताहरू टिबी पाठक, प्रकाश अधिकारी, प्रकाश दाहाल, ललित कार्की, विमल पचाई लगायत ड्यालस-फोर्टवर्थ क्षेत्रमा रहेका सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया