अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

नेपाल र अमेरिकाबिच दौत्य सम्बन्धको अवसरमा ७५ औँ वर्षगाँठ मनाइँदै

नातिबाबु भट्ट २०८० साउन ३१ गते २२:०८ मा प्रकाशित

कोलोराडो, नेपाल र अमेरिकाबिच दौत्य सम्बन्ध सुरु भएको ७५ औँ वर्ष पुगेको खुसीयालीमा नेपाल र अमेरिकाका उच्च पदाधिकारीहरूको उपस्थितिमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५ औँ वर्ष गाँठ मनाउन लागिएको छ ।

कोलोराडोको लङमन्ट स्थित बोल्डर काउन्टी फेयर ग्राउन्डमा (9595 Nelson Road Longmont, Co 80501) आगामी सेप्टेम्बर १ र २ तारिकका दिन विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ ७५ औँ बर्षगाठ मनाउन लागिएको हो ।

हेल्पिङ हेण्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा आयोजना गर्न लागिएको कार्यक्रमलाई भब्यताकासाथ सफल पार्न ३ सदस्सीय मूल आयोजक समितिमा हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, बुद्धिजीवी तथा समाजसेवीहरू द्वय डा. विजयराज शर्मा र नवीन दत्त गठन गरिएको छ ।

यसै गरी कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदाय बिच कृयाशिल डेढ दर्जनभन्दा बढी सङ्घ संस्थाहरू, नेपाली सोसाइटी टेक्सस र बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका कार्यक्रमको आयोजक रहेका छन् ।

कार्यक्रम स्थलमा नेपाली खाना, नेपाली हस्तकला र सङ्घ संस्थाहरूको स्टलको नेतृत्व सुनन्दा डङ्गोलले गर्ने छिन् । त्यस्तै कार्यक्रमलाई व्यवस्थित बनाउन १ सय भन्दा बढी भोलेन्टियर खटिने छन् । भोलेन्टरको नेतृत्व तथा परिचालन एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले गर्नेछन् । यसै गरी कार्यक्रम स्थलमा चाहिने सर सामान तथा यतायतका साधनको व्यवस्थापन एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष वासुदेव खनालले गर्ने छन् ।

त्यसै गरी सोही अवसरमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल एम्बेसीले कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । सेप्टेम्बर २ देखी ५ तारिख सम्म ( Drury Inn and Suites 10393 Reed Street, Westminster Co. 80021) सञ्चालन हुने कन्सुलर सेवा शिविरमा एम्बेसीले दिने सुविधाहरू  राहदानी नवीकरण, एनआरएन कार्ड बनाउने र नेपाल भ्रमणमा जान चाहनेलाई भिसा प्रदान गर्ने जस्ता विभिन्न सुविधा लिन सकिने नेपाल एम्बेसीले जनाएको छ । बिहान ९ बजे देखी ५ बजेसम्म सञ्चालन हुने कार्यक्रम सेप्टेम्बर २ देखी ५ सम्म हुने भएको छ ।

मातृभूमि नेपाल र कर्मभूमि अमेरिका बिच सम्बन्ध बिस्तार भएको ७५ औँ वर्ष पुगेको खुसीयालीमा सम्पन्न हुन लागेको यस महत्त्वपूर्ण कार्यक्रमलाई सव्य र भव्यताका साथ सफल पार्न आ आफ्नो क्षेत्रबाट यथाशक्य सहयोग गरी दिनुहुन आयोजक समितिले सबैलाई अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन सबैलाई पत्र पठाउन सम्भव नभएको हुनाले यसैलाई आधार मानी कोलोराडो वा कोलोराडो बाहिर रहनु भएका नेपाली भाषी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु समेत नवीन दत्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू