अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

विवादित फिल्म ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

बिआरटीनेपाल २०८० असार ८ गते ६:२१ मा प्रकाशित

अदालतले भारतीय चलचित्र प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । नेपाल चलचित्र संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवादित फिल्म ‘आदिपुरुष’ बाहेकका अन्य फिल्म मात्रै प्रदर्शन गर्ने उल्लेख गरेको हो । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ ।

उच्च अदालत पाटनले बिहीबार काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो जसअनुसार मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै, सेन्सर बोर्डले पास गरेका फिल्मलाई प्रदर्शनमा रोक नलगाउन भन्दै अदालतले आदिपुरुष प्रदर्शनको बाटो समेत खुला गरिदिएको थियो । तर अदालतले आदेश दिए पनि आदिपुरुषको प्रदर्शन नगर्ने निर्णय संघले गरेको हो ।

शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको संघले उल्लेख गरेको छ।

प्रतिक्रिया