अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

एशियाली खेलकुदको विशेष प्रशिक्षण थाल्न खेलाडी संघको आह्वान

बिआरटीनेपाल २०८० जेठ १४ गते ४:५५ मा प्रकाशित

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चीनमा आयोजना हुन लागेको १९ औं एशियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ ।आइतवार नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई संघले विभिन्न ६ बुँदे ध्यानकर्षण तथा सुझाबहरु बुझाउँदै आसन्न एशियाली खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेका हुन् । प्रतियोगिता आयोजना हुन ४ महिना बाँकी रहेको अवस्थामा अहिलेसम्म पनि नेपाल खेलाडीले तयारी थाल्न नसक्नु बिडम्वना भएको खेलाडीले अविलम्व तयारी गर्ने वातावरण मिलाउन संघले ध्यानाकर्षण पत्रमा आग्रह गरेको छ ।

संघले बुझाएको ध्यानकषर्ण पत्र बुझ्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले लिखित र मौखिक रुपमा राखिएका मागलाई सम्बोधन गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो । केही दशक अगाडि खेलकुदमा लाग्नेहरुका लागि सहयोग नभएको अवस्था भएको र अहिले विभिन्न क्लव, संघ, राखेप र ओलम्पिक कमिटी जस्ता संस्थाहरु भएको तर सहयोग पर्याप्त नभएको भन्दै मिलेर अगाडि बढ्न आपूm तयार रहेको मन्त्री लिम्बूले बताउनु भयो । उहाँले बजेट पारित भएपछि सम्बन्धित सबैसँग बसेर योजना बनाउने पनि बताउनु भयो ।

संघका अध्यक्ष दीपक श्रेष्ठले एशियाली खेलकुदको तयारीलाई बजेट अभाव भएको र छुट्टीएको बजेटबाट पनि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण थाल्न नसक्नु बिडम्वना भएको भन्दै मन्त्री समक्ष प्रशिक्षणको वातावरणको प्रवन्ध गरिदिन आग्रह गर्नुभयो । उहाँले अघिल्लो पटक २० करोड बजेट निकासा भएपनि सदुपयोग हुन नसक्दा फ्रिज भएको र अहिले २ करोड मात्र बजेट छुट्टीएको अवस्थामा पनि प्रशिक्षण नहुनुले राखेपमा गम्भीर प्रश्न उब्जिएको बताउनु भयो । त्यसका लागि मन्त्रीबाट पहल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

संघले आइतवार नवनियुक्त मन्त्रीलाई प्रशिक्षण आरम्भ गर्नका अलावा खेलाडीहरुको वृत्ति विकास, लामो समयदेखि राखेपमा काम गरिरहेका पदाधिकारीहरुको व्यवस्थापन, खेलाडी विदेश पलायन रोक्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरुका लागि घोषणा भएको पुरस्कार प्रदान गर्न लगायतका माग राखेर पत्र बुझाएका हो ।

राखेपले २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । नेपालले चीनको हाङझावमा आयोजना हुने प्रतियोगितामा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन । एशियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने तालिका रहेको छ ।

प्रतिक्रिया