अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

टेक्सासमा सोई ढोले सोई

बिआरटीनेपाल २०८० जेठ १ गते १३:०६ मा प्रकाशित

टेक्सास । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले साकेला उभौली सम्पन्न गरेको छ। साकेला उभौली कार्यक्रम डालसको युलेसस्थित बेयर क्रिक पार्कमा शनिबार सम्पन्न भएको आयोजकले जनाएका छन्।

कार्यक्रममा टेक्सासमा बसोबास गर्ने किरात राई समुदायका अतिरिक्त नेपाली समुदाय र विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको बाक्लो उपस्थिति रहेको केआरएसए केन्द्रिय कार्यसमिति उपाध्यक्ष तथा टेक्सास च्याप्टर अध्यक्ष दिलिप राईले बताए। ‘साथै हामीले बुद्ध भारतमा जन्मेका हुन् भनेर भारतबाट भइरहेको गलत प्रचारलाई चिर्ने कोशिश गर्‍र्यौं,’ उनेल भने। कार्यक्रममा ‘बुद्ध वाज बर्न इन नेपाल’ उल्लेख गरेर ब्यानर राखिएको थियो।

साथै, केआरएसए टेक्सास च्याप्टरले नेपालका कोशी प्रदेश घोषणा विरुद्ध भइरहेको आन्दोलनमा एक्वेबद्धता जनाउन ब्यानरमा कोशी उल्लेख गरि क्रस चिन्ह लगाएको थियो। ‘संघीय गणराज्य नेपालको संविधानले दिएको अधिकार अनुसार प्रदेशको नामाकरण गरेर जनताको माग सम्बोधन गर्नपर्छ,’ उनले भने, ‘त्यसविपरित अहिले आन्दोलनकारी माथि प्रहरि दमन भइरहेको छ।’

युलेस सिटि काउन्सिल प्लेस ६ का सदस्य टिका पौडेलले किरात सभ्यता र पहिचानका जगेर्नाका लागि केआरएसए टेक्सास च्याप्टरले साकेला उभौली आयोजना गरेको भन्दै प्रसंशा गरे। उनले नेपालमा कोेशी प्रदेश नामाकरणका विरुद्ध भइरहेको आन्दोलनमा प्रहरी दमन भएको र त्यसका विरुद्ध संसारभर रहेका किरात समुदाय एक हुनुपर्ने बताए।

कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिका टेक्सासका अध्यक्ष सूर्य मोक्तानले साकेला उभौलीको शुभकामना दिँदै किरात प्रदेशको पक्षमा मत राखेका थिए। कार्यक्रममा किरात एनआरएनए टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापा, याक्थुङ चुम्लुङ टेक्सासका अध्यक्ष तोङ्सा योङ्या, नेवा समाज टेक्सासका अध्यक्ष शैलेन्द्र मानन्धर, नेपाल सोसाइटी। अफ टेक्सासका महासचिव सन्देश उप्रेती लगायतका विभिन्न संघ संस्थाका प्रतिनीधिको उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथी केआरएसए केन्द्रिय कार्यसमितिकी बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष भारती राई थिइन्। उनी न्यू योर्कबाट कार्यक्रममा सहभागी हुन टेक्सास पुगेकी थिइन्। साकेला उभौली कार्यक्रमका संयोजकत्व केआरएसए टेक्सास च्याप्टर उपाध्यक्ष प्रदिप राईले गरेका थिए।

साकेला उभौली र उधौली गरी बर्षमा दुई पल्ट मनाइन्छ । उभौली हरेक वर्ष बैशाख पूर्णिमादेखि र उधौली भने मंसिर पुर्णिमादेखि ठाउँ, चलन र सहजता अनुसार मनाइन्छ।उभौली किरात राई जाति र विभिन्न जनावर तथा चराचुरुङ्गी गर्मी छल्न बेसीबाट लेकतिर बसाइ सर्ने क्रममा मनाइन्छ भने उधौली जोडो छल्न बेँसी झर्ने क्रममा मनाइन्छ। प्रकृति पुजक किरातीहरु यो समय खेतीपाती र बस्नुभाउ सप्रियोस तथा जीवनमा खुशियाली छाओस भनि पारुहाङ र सुम्निमा सहित पितृ तथा प्रकृतिलाई पुजा गरि आशिर्वाद माग्छन् ।

प्रतिक्रिया