अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

भक्तिका आयाम र यसमा गुरुको महत्त्व

रमा दुलाल २०७९ चैत २९ गते २१:४६ मा प्रकाशित

लेख
जीवनलाई जीवन जसरी नै बुझ्न त्यति सजिलो छैन ।आखिर जीवनले जीवन कसरी प्राप्त गर्दछ त? जीवनले जीवनलाई प्राप्त गर्न के गर्नुपर्छ त? हामीले समयमै विचार गर्नुपर्छ। हामी जन्मछौं। बाल्यकाल,युवा, बुढापा अनि मृत्यु।अनि जीवनको पूर्णविराम!! फेरी यही चक्रमा हामी घुमी रहनु पर्छ घुमी रहनुपर्छ । अतः जीवन नबुझी जाने हो भने कति पल्ट हामी घुमी रहनु पर्ने हो हामीलाई थाहा छैन । यसैले जीवनले जीवन बुझ्नु अत्यन्त आवश्यक छ । जीवनलाई बुझ्न हामीसँग दुई मार्ग छन् ।
एउटा हो- ध्यान मार्ग, अर्को हो भक्ति मार्ग ।

ध्यान मार्ग: ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो। जब शरीर र मनको सीमितताबाट पर गइन्छ, तब मात्र आफूभित्र जीवनको पूर्ण आयाम पाइन्छ। जीवन के हो, त्यसको मूल गुणलाई तब मात्र अनुभव गर्न सकिन्छ, जब आफ्नो शरीर र मनका सीमाहरूबाट पर गइन्छ । यसको निम्ति योगाभ्यासबाट ध्यानमा जानु पर्छ । अतः ध्यान मार्ग केही कठिन छ । यो मार्गमा धेरै साधना गर्नुपर्छ ।

भक्ति मार्ग: यो मार्गमा पूर्ण परमात्मा प्रति अटल भाव हुनुपर्छ । मिरा भक्ति मार्गको एउटा ज्वलन्त उदाहरण हुन ।
यो लेख भक्ति के हो ? भक्तिको रूप के हो ? भक्ति मार्गमा गुरुको के महत्त्व छ भन्ने विषयमा केन्द्रित छ ।

भक्ति के हो ?
सामान्यतया भक्ति शब्दको अर्थ ‘सेवा गर्नु’ वा ‘भजनु’ हो, अर्थात् श्रद्धा र प्रेमपूर्वक भगवानप्रति आशक्ति हुनु हो। ॠषी व्यासले पूजामा अनुराग हुनुलाई नै भक्ति भन्नु भएको छ । श्रद्धा,प्रेम,आनन्द,समर्पण सबै भक्तिका रूप हुन । हिन्दु धार्मिक साहित्यमा भक्तिको उदय वैदिक काल देखिनै नै भएको देखिन्छ। ‘भज्’ धातुबाट भक्ति शब्दको व्युत्पत्ति भएको हो ।

भक्तिका प्रकार:-
सबै मनुष्य भक्त हुँदैनन् । परमात्मामा सबैको मन जाँदैन । जसको मन परमात्मामा लाग्छ, उही भक्त हुन्छ । भक्त पनि धेरै प्रकारका हुन्छन् ।भक्तिको प्रकारबाट सच्चा भक्तको पहिचान हुन्छ ।

नारद भक्ति सूत्रमा ३ (तीन ) प्रकारको भक्ति बताइएको छ :-
१. भजन भक्ति:- जहाँ परमात्माको प्रसङ्ग चलिरहेको छ, जहाँ परमात्माको सङ्गीत बजिरहेको छ, जहाँ सत्सङ भइरहेको छ, जहाँ परमात्माको यादमा नृत्य भइरहेको छ, त्यहाँ यदि हाम्रो मन रमाउँछ, सङ्गीत सुनु रहु लाग्छ, सत्सँगमा बस्न मन गर्छ, नृत्य सँगै शरीर पनि नाच्न चाहन्छ, भने त्यो भक्तिलाई भजन भक्ति भनिन्छ । यो भक्तिको पहिलो प्रकार हो यो भक्तिबाट पनि अगाडी बडनु पर्छ ।

२ । भंजनमः भक्ति:- भञ्जन याने टुट्नु भाग्नु, हराउनु हो परमात्माको सङ्गीत, सत्सङ्ग, नृत्य सुनेर-हेरेर जब हामीलाई रस आउन सुरु हुन्छ आनन्द लाग्छ त्यो रसको कारण सन्सारको रस फिक्का लाग्छ, कम लाग्छ भने त्यो भञ्जन भक्ति हो सत्सँगमा जब रस आउँदै जान्छ, आकर्षण बढदै जान्छ अनि सन्सारसँगको रस टुट्दै जान्छ जसबाट हाम्रो राग र द्वेष पनि बिस्तारै कम हुँदै जान्छ, अज्ञान कम हुँदै जान्छ मोह -ममत्व कम हुँदै जान्छ भने त्यो भञ्जन भक्ति हो ।

३ । भागमः भक्ति:- जब हामी आफूलाई परमात्माको भाग याने अंश सम्झिन थाल्छौ भने त्यो भागम्: भक्ति हो । जब हामी परमात्माको आकाश र आफ्नो आकाशमा समानता देख्छौँ । अब म परमात्माको एक भाग हु भन्ने महशुह हुन्छ । अब म हैन तिमी नै म हु । उसकै एक भाग हु भन्ने लाग्छ भने त्यो भागम्: भक्ति हो । हामी सबै यही भागम्: भक्तिमा पुग्नु छ । भागम: भक्ति,भक्ति को अन्तिम चरण हो ।

नारद भक्ति सूत्रमा तीन प्रकारको भक्ति भनिएता पनि प्राचीन शास्त्रहरूमा भक्तिलाई नौ अवस्थामा विभाजन गरिएको छ, जसलाई नवधा भक्ति भनिन्छ । ती नवधा भक्ति निम्न छन्:
श्रवण कीर्तन विष्णोः स्मरण पादसेवनम्।
अर्चनं वन्दन दास्य सख्यमात्मनिवेदनम् ॥

१ । श्रवण: ईश्वरको लीला, कथा, महत्त्व, शक्ति, स्रोत इत्यादि लाई परम श्रद्धा सहित अतृप्त मनले निरन्तर सुन्नु नवधा भक्तिको पहिलो अवस्था हो

२ । कीर्तन: ईश्वरको गुण, चरित्र, नाम, पराक्रम आदिलाई आनन्द एवं उत्साहका साथ कीर्तन गर्नु भक्तिको दोस्रो अवस्था हो

३ । स्मरण: निरन्तर अनन्य भावले परमेश्वरको स्मरण गर्नु, उहाँको माहात्म्य र शक्तिको स्मरण गरेर मुग्ध हुनु भक्तिको तेस्रो अवस्था हो

४ । पाद सेवन: ईश्वरको चरणको आश्रय लिनु र उहाँलाई नै आफ्नो सर्वस्व सम्झनु भक्तिको चौथो अवस्था हो

५ । अर्चन: मन, वचन र कर्म द्वारा पवित्र सामग्रीले ईश्वरको चरणको पूजन गर्नु भक्तिको पाँचौँ अवस्था हो

६ । वंदन: भगवानको मूर्तिलाई अथवा भगवानको अंश रूपमा व्याप्त भक्तजन, आचार्य, ब्राह्मण, गुरुजन, माता-पिता आदिलाई परम आदर सत्कारको साथ पवित्र भावले नमस्कार गर्नु या उहाहरुको सेवा गर्नु भक्तिको छैटौँ अवस्था हो

७ । दास्य: ईश्वरलाई स्वामी र आफूलाई दास सम्झेर परम श्रद्धाले सेवा गर्नु भक्तिको सातौँ अवस्था हो

८ । सख्य: ईश्वरलाई नै आफ्नो परम मित्र सम्झेर आफ्नो सर्वस्व उहाँलाई नै समर्पण गर्नु तथा सच्चा भावले आफ्नो पाप पुण्यको निवेदन गर्नु भक्तिको आठौँ अवस्था हो

९ । आत्मनिवेदन: आफूलाई भगवानको चरणमा सधैँको लागी समर्पण गर्नु र केही पनि आफ्नो स्वतन्त्र सत्ता नराख्नु भक्ति को सबभन्दा उत्तम अवस्था मानिएको छ।यो भक्तिको नवौँ चरण हो ।

भक्तिको मार्गमा हृदयको आवश्यकता हुन्छ, बुद्धिको आवश्यकता हुँदैन ।बुद्धिमा निष्काम भाव जति प्रबल हुन्छ त्यो हृदय हो । यसैले परमात्मा हृदयमा बिराज मान हुनुहुन्छ ।

यसरी सर्सर्ती हेर्दा निचोडमा भन्न सकिन्छ कि सुखको अनुभूति, तृप्तिको अनुभूति, आनन्दको अनुभूति, सन्तोषको अनुभूति बाहिर केही प्राप्त गरेर हुँदैन, आफूभित्रै छ भन्ने जब लाग्छ, अनि भक्तिको यथार्थता स्पष्ट हुन थाल्छ । त्यो सुख परमात्मा सङ छ ,त्यो परमात्मा आफू भित्रै छ भन्ने लाग्छ भने त्यो नै श्वाशत भक्ति हो ।

भक्ति कसरी प्राप्त हुन्छ त…?
हरेक व्यक्तिमा एक भावना हुन्छ जसलाई राग याने पिर्ती(Attachment) वा लगाव पनि भनिन्छ जहाँ जहाँ हाम्रो राग हुन्छ, त्यहाँ हामीलाई सुखको अनुभूति हुन्छ चाहे त्यो असल होस चाहे खराब । हरेक मनुष्य सुखको खोजीमा हुन्छ, त्यो सुख उसलाई रागबाट प्राप्त हुन्छ भन्ने धारणा हुन्छ । चाहे त्यो क्षणिक नै किन नहोस् । रागबाट सुख प्राप्त हुन्छ भन्ने हाम्रो अपेक्षा हुन्छ । दुःख प्राप्त हुने स्थान वा व्यक्तिमा हाम्रो राग पटक्कै हुँदैन ।

राग याने पिर्ती ४ प्रकारको हुन्छ:
१ स्नेह
२ आशक्ति
३ कर्तव्य
४ श्रद्धा

स्नेह:- हामी भन्दा सानोमा राग भयो भने, त्यसलाई स्नेह भनिन्छ

आशक्ति:- आफू सरहको सङ राग भयो भने,त्यसलाई आशक्ति भनिन्छ

कर्तव्य:- आफू भन्दा ठुलामा राग भयो भने, त्यसलाई कर्तव्य भनिन्छ

श्रद्धा:- आफू भन्दा गुणवान् पर्ती राग भयो भने,त्यसलाई श्रद्धा भनिन्छ ।

स्नेह, आशक्ति तथा कर्तव्य उमेरमा आधारित हुन्छ भने, श्रद्धा गुणमा आधारित हुन्छ । यी चारै वटामा कामना जोडिएको हुन्छ । यसैले यी पनि भक्ति होईनन किनकि जहाँ कामना हुन्छ त्यहाँ भक्ति हुँदैन जब स्नेह, आशक्ति कर्तव्य तथा श्रद्धाबाट कामना झिकिन्छ अर्थात् यिनीहरू प्रति कामना हुँदैन यिनीहरू प्रति निष्काम(Unconditional) भाव हुन्छ अनि भक्तिको उदय हुन्छ । यही नै सच्चा भक्ति हो
भक्तिलाई हामीले निखार्नुपर्छ। Bhakti is practical application of our every life । यसको लागी हामीले सम्बन्ध लाई बचाइ राख्नु पर्छ ,तर त्यो सम्बन्धमा लुकेको कामनालाई मेटाउनु पर्छ । कामना मेटाएर जे बाकी रहन्छ त्यो भक्ति हो । यही भक्तिको बाटोबाट परमात्मा हामीभित्र प्रवेश गर्नुहुन्छ

भक्तिको रूप तथा स्वरूप:-
रूपले आकारलाई बुझाउँछ भने स्वरूपले निराकारलाई जनाउँछ । बाहिरको आकार मनुष्य अर्थात् जीवित सद्गुरु हो भने भित्रको आकार परमात्मा हो । रूपको भित्र स्वरूप हुन्छ । स्वरूप अमृत हो । स्वरूप परमात्मा हो। त्यसको अनुभूति हुनु नै परमात्मा हो । परमात्मा रूपको भित्र लुकेको हुन्छ । परमात्मा भक्तिले पाइन्छ। भक्ति निष्काम कर्मले पाइन्छ। स्वरूप निरन्तर हामीभित्र बगिरहन्छ। रूप परम प्रेम हो । परम प्रेम याने पुरा प्रेम । परम याने पूर्ण, परम याने परमात्मा, परम याने जो परमको प्रेममा रमेको छ उसको पर्ती प्रेम हुनु नै परम प्रेम हो ।
यदि हाम्रो प्रेम पुरा भयो भने त्यो परमात्मा हो । परमात्मा नै पुरा प्रेम हो जसलाई परमसँग प्रेम छ उसैको प्रेममा पागल हुनु नै परम प्रेम हो
(It is a Love revolution) प्रेम वासना हैन

जब स्वरूप अर्थात् निराकार बोल्न थाल्नु हुन्छ, साकारको अर्थात् रूपको सहारा लिनु हुन्छ । त्यो साकार रूप हो- जीवित सद्गुरु!! जीवित सत्गुरु परम प्रेमको पहिलो खुड्किलो हो। जीवित गुरु पर्तीको भक्ति, जसले हामीलाई निराकारमा प्रवेश गर्ने मार्ग देखाउनु हुन्छ । भक्तिको पहिलो पाइला हो। निराकारलाई जोडने माध्यम साकार रूप हो । निराकार परमात्माको स्वरूप हो। साकारको दर्शन, साकार को सेवा साकारको पूजा, साकारको ध्यान, साकारसँग सत्सङ्ग यी सबै भक्तिका प्रकरण हुन्। यसबाट जगत् सङ्ग बाँधिएको हाम्रो मायाको बन्धन बिस्तारै छुट्दै जान्छ । हामीलाई परमात्मा सँग जोड्न साकार गुरु भक्तिले मद्दत गर्दछ ।जहाँ साकार गुरु त्यहाँ परमात्मा!! परमात्मा नै साकार गुरुको अर्को रूप हो। अर्को नाम हो। यसैले त साकार गुरुलाई ब्रह्मा, विष्णु ,महेश्वर पनि भनिन्छ । गुरु भक्तिको महिमा अपरम्पार छ ।

परम प्रेमको लक्षणहरू:-
साकार गुरुप्रति हुने परम प्रेमको लक्षणहरू धेरै हुन्छन् । ती मध्ये मुख्य ५ (पाँच ) लक्षणहरू र ती लक्षणको प्रकृति निम्न हुन:
१ आकर्षण परम प्रेममा जहिले पनि आकर्षण(Attraction ) हुन्छ त्यो कहिले पनि घट्दैन।बरु दिन दिनै बढ्दै जान्छ ।

२ निरसता नहुनु: उहाँ प्रति कहिले पनि निरसता आउँदैन जहिले पनि उहाँको वाणी नौलो अपूर्व लाग्छ ।जहिले पनि नयाँ लाग्छ। सधैँ सुनु रहु लाग्छ । मन अघाउँदैन ।एक किसिमको मिठासको अनुभूति हुन्छ

३ तृप्तिको अनुभव: जुन जीवित गुरुबाट हामीलाई आनन्दको अनुभूति हुन्छ, अनि गुरुहरूको खोजको दौड पनि हाम्रो जीवनबाट हराउँछ । तृप्तिको अनुभव हुन्छ ।

४ भय नहुनु: अनि हामीलाई गुरुप्रति भय पनि हुँदैन । प्रेममा भय हुँदैन । यदि भय हुन्छ भने त्यो आफ्नै कारणले हुन्छ ।

५ विरोधको भावना नहुनु: प्रेम पात्रले गल्ती गरे पनि उस पर्ती कहिले पनि विरोधको भावना हुँदैन। समर्पण र स्वीकार भाव नै परम प्रेमको रूप हो ।

निष्कर्ष:भक्ती भक्तको परम प्रेमको गुरुप्रति समर्पित अवस्था हो । भक्ति अरूको नजरमा एक पागलपन पनि हो । प्रेमबिना भक्ति हुँदैन । भक्ति प्रेमको एक रूप हो जसरी हामी प्रेमलाई व्याख्या गर्न सक्दैनौ, त्यसरी नै भक्तिको पनि व्याख्या गर्न सकिँदैन । व्याख्या दिमागको हुन्छ । दिलको हुँदैन । हामीलाई पूर्ण भक्ति तब मात्रै प्राप्त हुन्छ जब दिल र दिमाग सन्तुलनमा हुन्छ । त्यसैले भनिन्छ, खाली भावमा बग्नु मात्रै पूर्ण भक्ति होइन । दिमागले दिललाई बुझ्नुपर्छ दिलले दिमागलाई सम्झनु पर्छ । भक्ति तर्कमा हैन, श्रद्धा एवं विश्वासमा अवलंबित हुन्छ । हृदय श्रद्धा वा भावको प्रतीक हो । भावको प्रभाव, सर्वप्रथम हृदयको स्पन्दनमा नै लक्षित हुन्छ । जबसम्म साकार गुरुको उपस्थितिको स्पन्दन हृदयमा हुँदैन भक्तिको उदय असम्भव हुन्छ ।

अतः भक्ति मार्गमा गुरुको महत्त्व अवर्णीय छ । किनकि साकार नै निराकारमा पुग्ने एक माध्यम हो । अस्तु:

# भक्तपुर, नेपाल ।

प्रतिक्रिया