अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

विश्वकप क्रिकेट लिग–२, पीएनजीविरुद्ध यूएईको जित

बिआरटीनेपाल २०७९ चैत १ गते ७:२१ मा प्रकाशित

कप्तान मोहम्मद वासिमको शतकीय इनिङको सहयोगमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई)ले आईसिसी विश्वकप क्रिकेट लिग–२ को खेलमा पपुवान्युगिनी (पिएनजी) विरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ६८ बल बाँकी रहँदा भेटाएको हो ।यससँगै युएईले काठमाडौं जारी लिग–२ को अन्तिम श्रृंखलामा पहिलो जित निकालेको छ । अघिल्ला दुईमध्ये पहिलो खेल पिएनजी र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । यससँगै पिएनजीले लिग–२ खेल्ने सबै खेल सकिएका छन् । पिएनजीले कुल ३६ खेल खेल्दा ५ खेलमा जित, ३० खेलमा पराजय र १ खेल बराबरीमा सकियो ।

पिएनजीले पूरै ५० ओभर खेलेर ७ विकेटमा दिएको लक्ष्य पछ्याउने क्रममा वासिमले एक्लैले १ सय १९ रनको विस्फोटक इनिङ खेलेका हुन् । ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेको उनले ७६ बलको सामना गर्दा १२ छक्का र ६ चौका प्रहार गर्दै इनिङ उकासेका थिए ।वासिमले ६१ बलमा शतक पूरा गरेका हुन् । उनले लिग–२ को एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत बनाए । यसअघि नामिबियाका जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो । जवाफी ब्याटिङ गरेको युएई यसअघि १ विकेट गुमाउँदा २४ रन मात्र बनाएको युएईले दोस्रो विकेट गुमाउँदा १ सय ४९ रन बनाएको थियो । यस्तै भृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए । बलिङतर्फ पीएनजीका लागि राईली हिकुरेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले पूरै ५० ओभर खेलेर २ सय ३४ रन बनाउन सक्यो । शुरुवात खराब भएपनि पिएनजीको इनिङलाई मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । यसै क्रममा कप्तान असाद भालाले अर्धशतकको इनिङ खेलेका थिए । भालाले ९२ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६५ रन जोडेका थिए ।यसैगरी नोर्मन भानुआले ३१ बलमा ५ छक्का र १ चौका मद्दतमा अविजित ४९, राइली हिकुरेले ३३, किप्लिङ डोरिगाले २४, चाल्र्स अमिनीले २२ र गौडी टोकाले १५ रन बनाउँदै पिएनजीको इनिङ सम्मानजनक अवस्थामा पु¥याएका थिए । सातौं विकेटका लागि भानुआ र हिकुरेले ७२ तथा चौथो विकेटका लागि भाला र अमिनीले ५३ रनको साझेदारी गरेका थिए ।

युएईका लागि हजरत बिलालले ४ तथा रोहन मुस्ताफा र जवार फारिदले समान १÷१ विकेट लिए । लिग–२ को अन्तिम खेल बिहीवार नेपाल र भ्रमणकारी टोली युएईबीच हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू