अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सञ्चालन गर्ने तयारी

बिआरटीनेपाल २०७९ पुष १६ गते ५:१५ मा प्रकाशित

सरकारले अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले यसबारे जानकारी गराउनु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।

बाह्य पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएकाले पनि ती देशहरुमा सिधा हवाई उडानको आवस्यकता रहेकाले सरकारले यस कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाइ थियो ।उहाँले भन्नुभयो, ‘अमेरिकासँगको एअर सर्भिस एग्रिमेन्ट, स्विजरल्याण्डसँगको, रुवान्डासँगको एअर सर्भिस एग्रिमेन्टको प्रोसेस अगाडि बढेको छ । हामी अरु देशहरुसँग पनि जहाँ धेरै सम्भावना छ, त्यहाँ एअर सर्भिस एग्रिमेन्ट गर्दै जाऊँ । एउटा एअरलाईन्सहरुबीचको एलाईन्स यसले निर्माण गर्छ । हाम्रो यात्रुहरुको संख्या बढ्छ । किनकी टुरिज्म सेक्टर रिभाईभ हुँदैछ । टुरिष्टहरुको संख्या बढिरहँदा एभिएशन मार्केट पनि बढ्दै जान्छ । त्यसका लागि हामीले ग्लोबल्ली र सम्भावित देशहरुसँग एअर सर्भिस एग्रिमेन्ट गर्दै जानुपर्ने आवस्यकता रहन्छ ।’

कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका  महानिर्देशक प्रदीप अधिकारीले दुर्गम क्षेत्रहरुमा उडान भर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पुर्‍याउनका लागि अतिरिक्त समय सञ्चालन शुल्क खारेज गर्ने निर्णय गरिएको पनि बताउनु भयो । उहाँले दुर्गम क्षेत्र हवाई कोष सञ्चालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरुको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको पनि बताउनु भयो ।

प्राधिकरणले नेपालगञ्ज विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा महंगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धतासमेत जनाउँदै आएको छ । कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न ट्रेड युनियनहरुलाई आग्रह गर्नुभयो । उहाँले हवाई सेवाको कामले गति लिने बित्तिकै त्यसबाट आउने मुनाफा ट्रेड युनियनहरुको हितमा हुने समेत स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू