अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा. सीके राउत

बिआरटीनेपाल २०७९ पुष ७ गते ४:१३ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । उहाँले मधेसमा नागरिककाे अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘हामीसँग राम्रो सङ्ख्या छ । हामी निर्णायक भूमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेसमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ ।’

अध्यक्ष राउतले नागरिकमुखी सेवा प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दा प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने उल्लेख गर्नुभयाे । कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने कुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने कुरामा आफू लाग्ने उहाँकाे भनाइ छ ।  अध्यक्ष राउतले आफ्नो दलको सीमित सङ्ख्याको भरमा सडक, संसद् र सरकारमा गएर नागरिकका माग र मुद्दा सम्बोधन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू