अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ५:५८ मा प्रकाशित

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ४ दिन नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ । आज शनिबार रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतकातर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्ला अधिकारी) सहितका सुरक्षा प्रमुखहरु सहभागी भएका थिए ।

बैठकपछि जारी विज्ञप्तिमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको उल्लेख गरिएकाे छ । बैठकमा सीमा क्षेत्रमा हुने हातहतियार तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखन नियन्त्रणका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने र नक्कली नोट नियन्त्रणलगायत साझा सवालमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू