अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

पीएम कप : आर्मीले सुदूरपश्चिमलाई १ सय ६९ रनले हरायाे, एपीएफ र गण्डकीकाे खेल ‘टाई’

बिआरटीनेपाल २०७९ कार्तिक १८ गते ५:५६ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ । आज शुक्रवार कीर्तिपुर मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई एक सय ६९ रनले हरायो ।आर्मीले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभर ४ बलमा अलआउट हुँदै एक सय १३ रनमात्र बनाउन सक्यो । उसका लागि वसन्त खत्रीले २५, नारायण जोशीले १९, गजेन्द्र भण्डारीले १७ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले तीन तथा विक्रम सोब र शाहब आलमले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनायो । उसका लागि अर्जुन साउदले ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भीम सार्कीले ३४, विनोद भण्डारीले २८ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई–दुई विकेट लिए ।

यो जितसँगै समूह ‘ए’ मा रहेको आर्मी दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । तीन वटै खेल हारेको सुदूरपश्चिम तालिकाको पुछारमा छ । यसअघि आजै भएको विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाई (बराबरीमा सकिएको) भएको छ ।एपीएफले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै एक सय १५ रनमात्रै बनाउन सक्यो । उसका लागि अभिषेक बस्नेतले २४, अर्जुन कुमालले १८, विपिन खत्रीले १७ रन बनाए । बलिङतर्फ एपीएफका किशोर महतो र मौसम ढकालले चार–चार विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा एक सय १५ रन बनाउँदा अलआउट भयो । उसका लागि भुवन कार्कीले २४, पुरन विकले २३ तथा लोकेश बम र सन्दीप जोराले २२–२२ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले तीन–तीन विकेट लिए ।यो बराबरीसँगै एपीएफ तीन खेलमा पाँच अङ्कसहित समूह ‘ए’ को तालिकाको शीर्ष स्थानमा छ । गण्डकीको पनि उति नै अङ्क भए पनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू