अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

निर्वाचन आचारसंहिताकाे पालना गर्न सञ्चार माध्यमलाई आयोगकाे आग्रह

बिआरटीनेपाल २०७९ कार्तिक १८ गते ५:५६ मा प्रकाशित

प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्ना भूमिका निर्वाह गरिदिन निर्वाचन आयोगले सञ्चार माध्यमलाई आग्रह गरेको छ । आज शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त सगुन शमशेर जबराले यस्ताे बताउनुभएकाे हाे । उहाँले भयरहित, स्वच्छ तथा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सञ्चार माध्यमले आचारसंहिता पालना गर्दै आफ्ना भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले निर्वाचनको क्रममा रिपोर्टिङ गर्ने सञ्चार माध्यम तथा पत्रकारले पेशागत आचारसंहितासँगै निर्वाचन आचारसंहिताकाे पनि पालना गर्न आवश्यक रहेको बताउनुभयाे । उहाँले निर्वाचन मात्र होइन अन्य कुरामा समेत सञ्चार माध्यमको ठूलो भूमिका रहेकाले आगामी निर्वाचनमा पनि निर्वाचनको क्रममा देखिएका बेथितिहरुलाई उजागर गर्ने कुरामा जोड दिनुभयाे ।

साेही कार्यक्रममा निर्वाचन कार्यालय धनुषाका निर्वाचन मुख्य अधिकृत ब्रजेश प्याकुरेलले सञ्चार माध्यम र पत्रकारहरुले गलत सूचना प्रवाह गरेमा जनताकाबीच नाकारात्मक सन्देश जाने भएकाले सकारात्मक रुपमा समाचार संकलन गर्न आग्रह गर्नुभयाे ।

अभिमुखिकरणमा सहभागी विभिन्न सञ्चार माध्यमका पत्रकारहरुले उम्मेदवारहरुबाट बालबालिकाको प्रयोग, विदेशी गाडीको प्रयोगसहितका व्यापक रुपमा आचारसंहिता उल्लंघन भइरहे पनि आयोगले केहीलाई स्पष्टिकरण बाहेक अरु कुनै कारबाही प्रक्रिया अघि नबढाएको आरोप समेत लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू