अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी मजदुर नेता लुला निर्वाचित

बिआरटीनेपाल २०७९ कार्तिक १४ गते ५:५८ मा प्रकाशित

ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाउनुभएको छ ।बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरेका बीबीसीले जनाएको छ । पहिलो चरणको चुनावमा कसैको पनि बहुमत नआएपछि लुला दा सिल्भा र बोल्सोनारोबीच हिजो आइतवार पुनः चुनाव भएको हो ।

७७ वर्षका मजदुर नेता लुला राष्ट्रपति चुनिएको यो तेस्रो पटक हो । उहाँले आउँदो जनवरी १ देखि ब्राजिलको सत्ता सम्हाल्नुहुने छ । गरिब परिवारबाट आएर देशको सर्वोच्च पदमा पुग्ने लुलाको जीवन कथा र उहाँ राष्ट्रपति हुँदा ब्राजिलले गरेको आर्थिक सुधारलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि लुला संसारकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ रहेका बताउनुभएको थियो ।

पाँच कक्षासम्म मात्रै पढेका लुलाले परिवारको आर्थिक समस्या टार्न सुरुमा जुत्तामा पालिस लगाउने काम गर्नुभयो । त्यसपछि उद्योगमा मजदुरी थालेका लुला २० वर्षको उमेरदेखि मजदुरका हक अधिकारबारे बोल्न थाल्नुभएको हो । मजदुर नेताका रूपमा उदाएका लुला तेस्रो पटक ब्राजिलको राष्ट्रपतिमा चयन हुनुभएको हो । भ्रष्टाचार मुद्दामा जेल चलान गरिएका कारण सन् २०१८ को राष्ट्रपतीय चुनावमा लुला उम्मेदवार बन्न पाउनुभएको थिएन । अभियोगलाई प्रमाणित हुने प्रमाण नभएको भन्दै सर्वोच्चले उहाँको सजाय रद्द गरेपछि १८ महिनाको जेलपछि रिहा हुनुभएको थियो ।

जेलबाट छुटेको १९ महिनापछि राष्ट्रपतिमा चयन भएका लुलाले देशको आर्थिक स्थिति फेरि सबल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुलाको जितले ब्रजिलको सबैभन्दा उग्र दक्षिणपन्थी सरकारको अन्त्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू