अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

इरानमा सरकारविरोधी प्रदर्शन उग्र बन्दै

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ६:४० मा प्रकाशित

इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरू भएको प्रदर्शन चर्किदै गएपछि भएको हिंस्रक प्रदर्शनका क्रममा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

शुक्रवार भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको इरानी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसिले जनाएको छ । प्रहरी हिरासतमा एक कुर्दिश युवतीको मृत्यु भएपछि इरानमा थप उग्र प्रदर्शनहरू भएका छन् भने दंगा भड्किएपछि सरकारलाई चुनौती थपिएको विश्लेषण गरिएको छ ।

सामाजिक सञ्जालमा प्रेषित भिडियोेहरूमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएको देख्न सकिन्छ । इरानमा विगत ६ साता यता चलिरहेको प्रदर्शन दशकौँ पछिको सबैभन्दा ठूलो हो । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षकी कुर्दिश–इरानी मूलकी महसा अमिनीको गत महिना प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरू भएको थियो । प्रहरीले टाउकोमा लट्ठी प्रहार गरेका कारण उनको मृत्यु भएको जनाईएको छ । तर, प्रहरीले आरोप अस्वीकार गर्दै उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेको छ ।

प्रदर्शनमा सहभागी महिलाहरूले ‘महिलाको स्वतन्त्र जीवन’को नारा लगाएका छन् भने सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईलाई तानाशाहको संज्ञा दिँदै उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । महिलाले उठाएका मागमा समर्थन जनाउँदै पुरुष र किशोरहरू पनि प्रदर्शनमा सहभागी भएका छन् । यता सरकारले भने बल प्रयोग गरेर प्रदर्शन दमन गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू