अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

भारतमा पराल जलाउँदा नेपालमा वायु प्रदूषणको जोखिम, सावधान रहन विज्ञको सुझाव

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ५:३५ मा प्रकाशित

केही दिनमा नेपालमा प्रदूषित हावा फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । भारतको पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पछिल्लो एक हप्तादेखि पराल डढाउने कार्य भइरहेकाले हावा प्रदूषित भइरहेको र त्यही  प्रदूषित हावा नेपाल भित्रन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाव दिएका हुन् । प्रदूषित हावा केही दिनमा नेपाल भित्रन सक्ने र यस्तो प्रदूषित हावाले स्वास्थ्यमा असर पार्न सक्ने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल  डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ ।  यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरु बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

काठमाण्डौ उपत्यका कचौरा आकारको भएकाले यहाँ हप्तौसम्म पनि प्रदूषित हावा फैलने गरेको छ भने तराईका भूभागमा पराल डढाउने, डढेलो, फोहोर जलाउने लगायतका कारणले पनि हावा प्रदूषित हुने गरेको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा काठमाण्डौसहित देशभर प्रदूषण बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू