अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

असोजमै मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

बिआरटीनेपाल २०७९ असोज २० गते ५:१४ मा प्रकाशित

हिमाली जिल्ला मनाङमा हिमपात भएको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले असोज महिनामै हिउँ पर्न थालेको हो ।

हिउँले डाँडाकाँडा सेताम्मे भएको छ भने चिसो बढेको छ । उहाँले यस वर्ष असोजमै चाँडै हिमपात भएको र अब यो क्रम बढ्दै जाने जानकारी दिनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा हिउँ परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यस वर्ष भने अक्टोबर ६ मै हिउँ परेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार बुधबार रातिदेखि हिउँ पर्न थालेको छ । अहिलेसम्म २ फिटसम्म हिउँ जमिसकेको उहाँले बताउनुभयो ।

हिमपातका कारण बिजुली बन्द भएको छ । इन्टरनेट पनि प्रभावित छ । मोबाइल नेटवर्कमा समेत समस्या भएको स्थानीयले बताएका छन् । मनाङमा गत वर्ष मङ्सिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो । यस वर्ष २ महिना अघिदेखि नै हिमपात भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी वर्षा भएको छ । वर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका लगायतको उच्च भूभागमा हिमपात भएको छ । तल्लो क्षेत्रमा पनि चिसो बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन पनि भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई सचेत रहन उहाँले अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू