अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

बलात्कारका आरोपी सन्दीप लामिछाने आज नेपाल आइपुग्दै, प्रहरीसमक्ष आत्मसमर्पण गर्ने तयारी

बिआरटीनेपाल २०७९ असोज १९ गते २१:३३ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने भएका छन् ।

कतार एयरवेजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने सन्दीप स्वयमले फेसबुक  स्टाटसमार्फत जानकारी  दिएका छन् ।

उनले एयरपोर्टमा नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने छन् । उनले प्रहरीलाई खबर पनि गरिसकेको बताएका छन् । सन्दीपले आफू एयरपोर्टमाा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराईदिन आग्रह गरेका छन् । आफ्नो सुरक्षालाई मध्यनजर गर्दै घिमिरेलाई उपस्थित गराईदिन फेसबुक स्टाटसमाफर्त उनले अनुरोध गरेका छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ ।

उनले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । नेपालको न्यायालयले आफूलाई न्याय दिनेसमेत उनले बताउँदै आएका छन् ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेलका कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू