अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सचिवालय स्थापना

बिआरटीनेपाल २०७९ भदौ ५ गते ७:४६ मा प्रकाशित

आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको सचिवालय पोखरामा स्थापना गरिएको छ । पोखरा रङ्गशालामा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सचिवालयको उद्घाटन गर्नुभयाे । कार्यक्रममा खेलकुदमन्त्री गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता तीनै तहको सरकारको साझा दायित्व र जिम्मेवार भएको बताउनुभयाे । राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक प्राविधिक करारमा खटाउने तयारी रहेकाे उहाँकाे भनाइ छ ।

‘राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक प्राविधिक (प्रशिक्षक) कति चाहिन्छ, यकिन गर्छ । जहाँ आवश्यकता छ त्यहाँ स्वयंसेवक प्रशिक्षकलाई करारमा नियुक्ति गरेर प्रशिक्षण सुरु गराउने छौँ’, मन्त्री गहतराजले भन्नुभयाे । गण्डकीका मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । त्यसैगरी पोखराका मेयर आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने नै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसाबले साथ, सहयोग रहने प्रतिबद्धता जनाउनुभयाे ।

प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया