अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

बिआरटीनेपाल २०७९ भदौ ५ गते ७:०९ मा प्रकाशित

अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ ।नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने जानकारी दिए ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ । ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्‍याइने छ । विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया