अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

माओवादी केन्द्रले भदौ ८ देखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्ने

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:४२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिवार मात्र पदाधिकारी चयन गरेको माओवादी केन्द्रले आसन्न चुनावलाई लक्षित गरी भदौ ८ गतेदेखि प्रदेशस्तरीय कार्यक्रम गर्ने कार्यतालिका तयार गरेको हो । शनिवार बसेको माओवादीको स्थायी समितिको बैठकले भदौ ८ गतेदेखि मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम शुरू गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दे उहाँले बैठक तथा प्रशिक्षण कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

उपाध्यक्ष महराका अनुसार भदौ ९ मा गण्डकी प्रदेश, १० गते प्रदेश १, ११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती, १३ गते विशेष प्रदेश समिति, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम हुने छ । माओवादी केन्द्रले सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा मोटामोटी सहमति जुटाएपछि मात्र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तय गरेको थियो । भदौ ७ गते गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय गरेको उपाध्यक्ष महराले बताउनुभयो ।

यसैवीच, माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टीको स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको उपाध्यक्ष महराले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू