अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

नेपाली चलचित्रलाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्छ:भुवन केसी

बिआरटीनेपाल २०७९ साउन २१ गते ७:५० मा प्रकाशित

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । पोखरामा शनिबार क्याराभान नेपाल प्रालीले आयोजना गरेको ‘आफ्नो कथा आफ्नो चलचित्र’ कार्यक्रमको उद्घाटन गर्दै केसीले नेपाली चलचित्रलाई विश्वबजारीकरण गर्न बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।आफू छोटो समयको लागि बोर्डमा आएको भए पनि यस क्षेत्रका समस्याबारे परिचित भएकाले तिनको समाधान तथा समग्र चलचित्र क्षेत्रको सुधारका लागि काम गर्ने उहाको भनाई थियो ।

यस्तै नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उहाँको थियो । जीवनको ४० वर्ष आफूले चलचित्र क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उहाँले बताउनुभयो । केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गर्नुभयो । समाजको कथा खोज्ने कार्यमा विकास बोर्डले सक्दो सहयोग गर्ने केसीले बताउनुभयो ।

क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो चलचित्र’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गर्नुभयो । चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सीमित नरही कथाको खोजी गर्ने र चलचित्रको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाउनुभयो ।

प्रतिक्रिया