अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

ग्यासको भाउ बढेपछि सङ्घीय कर निलम्बन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

बिआरटीनेपाल २०७९ असार ८ गते ८:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनुभएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका लागि सङ्घीय कर निलम्बन गर्न लागेको बाइडेन प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । यसका लागि राष्ट्रपति बाइडेनले भोलि बिहीवार बस्ने सङ्घीय संसद्को बैठकमा अनुरोध गर्ने तयारी गर्नुभएको छ ।

अमेरिकामा ग्यासमा प्रति सिलिन्डर अर्थात् तीन दशमलव ७८ लिटरमा १८ सेन्ट सङ्घीय कर लाग्छ । रुस–युक्रेन युद्ध सुरु हुनुअघि अमेरिकामा प्रति सिलिन्डर ग्यासको मूल्य तीन डलर रहेकोमा अहिले बढेर पाँच डलर पुगेको छ । केही राज्यमा कर बढी भएका कारण प्रति सिलिन्डर ६ डलरसम्म पुगेको छ ।

राष्ट्रपति बाइडेनले सङ्घीय कर निलम्बन गर्नुका साथै राज्य सरकारको करलाई समेत घटाएर प्रति सिलिन्डर एक डलर भाउ घटाउन अनुरोध गर्नुहुने ह्वाइट हाउसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । कर निलम्बनले मात्रै बढिरहेको मूल्यमा राहत नपुग्ने भएकाले राहतका अरू प्याकेज बारेमा पनि राष्ट्रपति बाइडेनले छलफल गरिरहनुभएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू