अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

सेकेन्ड ड्रिम विग च्यालेन्ज २०२२ को नतिजा सार्वजनिक, अमेरिका र नेपाल दुवै देशका विद्यार्थी पुरस्कृत

बिआरटीनेपाल २०७९ जेठ १७ गते २०:१५ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीले अमेरिकाद्वारा आयोजित नेपाल र अमेरिकामा स्नातक गरिरहेका विद्यार्थीबिच गराएको ‘सेकेन्ड ड्रिम विग च्यालेन्ज २०२२ प्रतियोगिता’मा चन्दा श्रेष्ठ, अभिषेक शर्मा र निर्देश सिम्खडाको समूह प्रथम भएको छ । श्रेष्ठ अमेरिकामा तथा शर्मा र सिम्खडा नेपालमा पढ्दै हुनुहुन्छ ।

यही २८ र २९ मेमा जुम वेभिनारमार्फत् आयोजित कार्यक्रममा विजेताहरूको घोषणा गरिएको हो ।प्रथम हुन सफल समूहमार्फत तीनै जना विद्यार्थीले ‘यु विस, वी डेलिभर एन इ–कमर्स प्लेटफर्म’ शीर्षकमा बिजनेस आइडिया र योजना प्रस्तुत गर्नुभएको थियो ।यसै गरी, द्वितीय स्थान प्राप्त गर्ने समूहमा रोशन ओझा र प्रवीण न्यौपाने रहेका छन् । दुबै जना नेपालमा अध्ययनरत हुनहुन्छ । उहाँहरूले ‘वर्क हब प्रोभाइडिङ टेक्निकल स्किल्स एण्ड जब अपच्र्युनिटिज’ शीर्षकमा आफ्ना अवधारणा र योजना प्रस्तुत गर्नुभएको थियो ।

तृतीय स्थान प्राप्त गर्ने समूहमा आशिष् पाण्डे, बिनिसा बन्जारा र विकल्प ढुङ्गाना रहनुभएको छ । उहाँहरूले ‘सोलार पावर्ड भेइकल’बारे योजना प्रस्तुत गर्नुभयो । पाण्डे अमेरिकामा, बन्जारा र ढुङ्गाना नेपालमा अध्ययन गरिरहेका विद्यार्थी हुनुहुन्छ ।

प्रथम, द्वितीय र तृतीय हुने समूहका विद्यार्थीहरूले क्रमशः तीन हजार, दुई हजार र एक हजार अमेरिकी डलर प्राप्त गरेका छन् । यो प्रतियोगिताको नेपाल र अमेरिकाका गरेर ५ जना विज्ञहरू निर्णायक हुनुहुन्थ्यो । अमेरिकाबाट डा. मदन उप्रेती डा. निर्मला अधिकारी र सुजन श्रेष्ठ, नेपालबाट दीपमाला श्रेष्ठ र वासु त्रिपाठी रहनु भएको थियो ।

प्रतियोगिताका लागि ६३ जना स्नातक विद्यार्थीले सहभागिताका निम्ति आवेदन दिएका थिए । तर, २६ जनाले मात्र योजना प्रस्तुत गरेका थिए । २६ जना विद्यार्थीलाई व्यक्तिगत रूपमा नभई नौ समूहमा विभाजन गरी योजना प्रस्तुत गर्न लगाइएको थियो । हरेक समूहलाई सहयोग गर्न प्रशिक्षकका रूपमा एक जना ‘मेन्टर’ खटिएका थिए । यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई मात्रै सहभागी गराइएको थियो । यस पटक भने स्नातक तहका नेपालका विद्यार्थीलाई पनि सहभागी गराइएको हो ।

प्रतिस्पर्धामा ‘एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ ?’ भनेर विद्यार्थीसित आइडिया मागिएको थियो । नेपाल र अमेरिकामा एउटै तहमा अध्ययनरत विद्यार्थीहरूले आपसमा अनुभव आदानप्रदान गर्ने, सिक्ने, कार्य योजना बनाउने, परियोजनाका लागि लिइएको ऋण सही ढङ्गले प्रयोग गर्ने विषयमा विचार मन्थन भएको थियो । त्यसमा भएको लगानी, समय र मेहनतको प्रतिफल कसरी लिन सकिन्छ भनी दिगो योजना बनाउँदा विद्यार्थीहरूमा सोच्ने, बुझ्ने तथा योजना बनाउने विषयमा क्षमता विकास भएको देखिन्छ । दुवै देशका विद्यार्थीहरूमा ‘क्रिटिकल थिङ्किङ’ विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै सङ्कायमा अध्ययनरत नेपाल र अमेरिकाका विद्यार्थीले गत मार्च २० भित्र आवेदन दिएका थिए ।योजना प्रस्तुत गर्नुअघि सहभागीहरूलाई हौसलायुक्त र प्रेरणामूलक प्रवचन दिन विभिन्न व्यवसायमा सफल व्यक्तिहरूलाई आमन्त्रण गरिएको थियो । उहाँहरूले सफलताका सूत्रहरू विद्यार्थीहरूलाई बताउनुभएको थियो ।कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि बन्नुभएका नेपालका सफल व्यवसायी विनोदकुमार चौधरीले विभिन्न अवसर र चुनौतीका विषयमा प्रकाश पार्नुभयो । उहाँले विश्वमा प्रविधिको माध्यमबाट कसरी उबर, अमेजनहरुले सफलता हासिल गरेका छन् भन्नेबारे दृष्टान्त दिनुभयो ।

कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथि बन्नुभएका गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष तथा सफल व्यवसायी डा. उपेन्द्र महतोले विद्यार्थीबिच नेपालप्रतिको माया जगाउन, अवसर र नवीन योजना ल्याउन सघाउने ड्रिम विग च्यालेन्ज कार्यक्रम अब ‘च्यालेन्ज’ मात्र नभएर ‘ड्रिम विग अपच्र्युनिटि’ भएको बताउनुभयो । योजना बनाउँदा विद्यार्थीलाई उहाँको सुझाव थियो, ‘सपना आँखा चिम्लेर होइन, खोलेर देख्नु पर्छ । पोखरीको साटो समुन्द्रमै माछा मार्ने योजना किन नबनाउने ?’

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमले नेपालसँग जोड्ने र जोडिने गैर आवासीय अभियामलाई सहयोग पुग्ने बताउनु भयो । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समितिका अध्यक्ष बुद्धि सागर सुवेदी नेतृत्वमा भएका कामको सह्राना गर्दै अरूको हल्लाको पछि नलाग्न आग्रह गर्नु भयो । आइसिसी महासचिव डा. केशव पौडेलले यस किसिमको कार्यक्रमले नेपाल र विश्वको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि जोड्न सक्ने बताउनुभयो ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले यस प्रकारको कार्यक्रमले नेपाल र अमेरिकाका विद्यार्थीलाई योजना बनाउनका निम्ति जोड्न सकेको छ भन्नुभयो ।

विद्यार्थीहरूलाई एक मिलियन डलरको ठुलो सपना देख्ने मात्र नभई त्यसलाई कसरी व्यवहारिक ढङ्गले लागू गर्ने र सफल हुने योजना बनाउनु पर्छ भन्ने ज्ञान कार्यक्रमले दिएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सन् २०१७ मा नलेज कन्भेन्सन आयोजना गरेको थियो ।त्यसलाई आइसिसीले अनुकरण गरेको छ ।

कार्यक्रमको सञ्चालन गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटी अमेरिकाका संयोजक डा. माधव पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया