अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

सुरु भयो १० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल, उद्घाटनमा विभिन्न व्यक्ति सम्मानित

बिआरटीनेपाल २०७९ जेठ १६ गते १७:०७ मा प्रकाशित

काठमाडौँ, आइतबारबाट काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२’ सुरु भएको छ ।
महोत्सवमा नेपाल सहित १५ देशका २६ फिल्महरू सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र विदेशबाट १४ वटा रहेका छन् ।यो महोत्सव मङ्गलवारसम्म ३ दिन नाचघरमा जारी रहने छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सव उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडि परेको महादेशबाट विगत १० वर्षदेखि फिल्म सङ्कलन गरेर नेपालमा यो महोत्सव आयोजना गर्नु आफैँमा सराहनीय कार्य हो ।’ विदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकाश बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा विदेशी चलचित्रको प्रवर्धनलाई मद्दत पुगेको पनि अध्यक्ष दाहालले बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सव संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रूपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफूहरूले यो महोत्सव आयोजना गर्दै आएको बताइन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सव गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन् ।

यस्तै प्रतिनिधि सभाकी सांसद मन जिसीले कार्यक्रममा बोल्दै नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानको लागि यो महोत्सव निकै उपयोगी हुने गरेको बताइन् । यस्ता महोत्सवलाई सघाउन आफूले सँसदमा आवाज उठाउने उनले प्रतिबद्धता जनाइन् ।

कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले निजी स्तरबाट भएका यस्ता अन्तर्राष्ट्रिय स्तरका चलचित्र महोत्सवलाई राज्यले सहयोग गर्नु पर्ने जिकिर गरे । फरक शैलीका कलात्मक चलचित्र यस्ता महोत्सवमा प्रदर्शन गरिने भएकाले यो महोत्सव आफूहरूका लागि निकै महत्त्वपूर्ण हुन गरेको पनि अध्यक्ष खड्काले बताए ।

नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकद्धिप पराजुली, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सव वृद्ध हुँदै गएको खुसी व्यक्त गरे । यस्तो महोत्सव वृद्धि हुनुमा नेपाल अफ्रिका फिल्म फेस्टिभलको उत्तिकै योगदान रहेको उनीहरूले बताए ।

कार्यक्रममा पत्रकार जीवन पराजुलीले महोत्सवमा चयन भएका चलचित्रबारे चर्चा गरे । यस्तै अभिनेता धिरेन शाक्यले महोत्सवमा निकै राम्रा र फरक सिनेमा आएको बताए ।

महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सवमा विगत र यस पटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रूपमा आयोजना गर्ने बताए ।

नेपाली चलचित्र, गीत सङ्गीत तथा सौन्दर्य कला क्षेत्रमा एक देखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो । समारोहमा सिनेकर्मी तथा पत्रकार आलोक तिवारी र पत्रकार ओम प्रकाश घिमिरे पत्रकारिता सम्मानबाट सम्मानित भए । यस्तै, गायक अलिप खान, गायिका सुजता केसी, चलचित्र निर्देशक कल्याण अधिकारी कलाकारिता सम्मानबाट सम्मानित भए ।

सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पाण्डे हमाल, मेकअप आर्टिस्ट राष्ट्रिय सम्मानबाट सम्मानित भए । यसै गरी ब्युटिसियनहरु प्रीति सोनी शाह, सुभद्रा देवी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, सुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सौन्दर्यकर्मी राष्ट्रिय सम्मान–२०७९ बाट सम्मानित भए ।
महोत्सवको निर्णायकहरूमा सङ्गीतकार जुगल डङ्गोल, अभिनेताहरू प्रवण भुसाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन् ।

महोत्सवमा आइतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो । यस्तै आइतबार नै दुई नेपाली लघु चलचित्र ऋषिराज आचार्यको निर्देशनको ‘राईज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाइयो । यस्तै केमरुनको बृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेस टाइम पनि प्रदर्शन गरियो । महोत्सवमा सोमबार बिहान ११ः३० बजेबाट बेलुका ६ बजेसम्म १० वटा चलचित्र प्रदर्शन गरिने महोत्सव अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

प्रतिक्रिया