अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ- नवनिर्वाचित मेयर आचार्य

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४५ मा प्रकाशित

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा निर्वाचित भएपछिको विजय र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताउनुभयो ।

पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।

पाँच दलको शक्ति, सामाजिक क्षेत्रमा गरेको योगदानका कारणले जित सम्भव भएको उल्लेख गर्दै आचार्यले ठूलो सङ्ख्यामा मत बदर नभएको भए मतान्तर अझै बढ्ने बताउनुभयो । आचार्य नेकपा (एमाले)का कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू