अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

शिक्षक दरबन्दी पुनरावलोकन, दिवा खाजा कक्षा ८ सम्म विस्तार

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:१८ मा प्रकाशित

सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताउनुभएको छ ।

सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी छैन । प्राविधिक धारका शिक्षणसंस्थामा पनि शिक्षक अपुग छ । सरकारले गठन गरेको कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक अभाव रहेको औंल्याएको थियो । राष्ट्रपति भण्डारीले विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलाउन गरिने बताउनुभयो ।

त्यस्तै सरकारले विद्यार्थी दिवाखाजालाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । हाल कक्षा ५ सम्मका सामुदायिक विद्यालयका बालबालिकालाई दिवाखाजा उपलब्ध गराउँदै आएको थियो । दिवाखाजाका लागि सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै प्रत्येक प्रदेशमा आवासीय विद्यालय स्थापना गर्ने, प्राविधिक धारका शिक्षालयको नक्साङ्कनसहित प्रत्येक स्थानीय तहमा पुर्याउने घोषणा गरेको छ । विश्वविद्यालयको वर्गीकरण गरी अनुदान उपलब्ध गराउने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विदेशी विद्यार्थी आकर्षित गर्ने विश्वविद्यालय र शिक्षणसंस्थालाई विशेष प्रोत्साहन गरिने भएको छ भने प्रत्येक प्रदेशमा २ वटा मेडिकल कलेज स्थापना गर्ने बताइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको समन्वयमा डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू